निर्मल भट्टराई
नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपछि अर्को असफलता ब्योहोर्न व्याध्य भएपछि सामान्य मानवीय मर्यादा समेत नाघेर प्रधानमन्त्रीविरुद्ध गालीगलौजमा उत्रेका छन् । हुँदा हुँदा दिनप्रतिदिन देश र जनताको पक्षमा अब्बल काम गर्दै आएका प्रधानमन्त्रीलाई ‘कुहिएको अण्डा’संग तुलना गरेका छन् । एकपछि अर्को बोल्ड कदमले शक्तिशाली बन्दै गएका प्रधानमन्त्रीको एनकेन प्रकारेण बदनाम गर्न प्रतिक्रियावादी कित्तालाई समेत प्रचण्डले माथ गर्दैछन् ।
उनलाई देशकै भेटरान राष्ट्रवादी नेताको रुपमा मान्ने मानिसहरुको जमात पनि कुनै बेला निकै थियो । युद्धकालमा ‘भारतविरुद्ध सुरुङ युद्ध गर्ने’ उटिपट्याङ उद्घोष गर्ने प्रचण्ड–बाबुरामको शैलीका कारण जनतामा उनीबारे यो भ्रम हुनु अस्वभाविक थिएन । राष्ट्रवादी कम्युनिष्ट नेता मोहनविक्रम सिंहको उछित्तो काढेर भारतको परोक्ष सहयोगमा माओवादी जनयुद्ध शुरु गरेका प्रचण्ड करिब तीन दशक नेपालको अस्थीरताको प्रमुख कारक बन्दै आएका छन् । पुरानो ध्वंश नगरि नयाँ निर्माण हुदैन भनिए पनि ध्वंशमा मात्र उनको लगाव रह्यो, देश निर्माणमा कुनै दिलचस्पी रहेन ।
युद्ध कालमा होस् या शान्ति कालमा होस् ,भाषणमा भारतको विरोध गरेजस्तो गर्ने तर व्यवहारमा अस्थीरतामा खेल्ने भारतको डिजाइनमा काम गर्ने प्रचण्डको प्रमुख राजनीतिक चरित्र बन्दै आएको छ । ‘जनयुद्ध’को भुङ्ग्रोमा नेपाली जनतालाई धकेल्ने तर आफूचाँहि भारतको संरक्षणमा भारतमै ऐस आराम गर्ने प्रचण्डले नेपाललाई जातीय द्वन्दमा फसाएर सिध्याउन प्रथम संविधानसभामा नेपाललाई जातीय राज्यमा विभाजन गर्ने जबर्जस्त अगाडि सार्नाले दोहोर्याएर संविधानसभाको निर्वाचन गर्नुपर्यो । दोश्रो संविधानसभाको विर्वाचनमा प्रचण्डदेखि आजित भएका जनताले माओवादीलाई एउटा सानो शक्तिको रुपमा खुम्च्याएपछि मात्र संविधानसभाले संविधान निर्माण गर्न सक्यो । वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीको चट्टानी अडानका कारण नेपाल जातीय द्वन्दको चपेटाबाट जोगिएर अगाडि बढ्न सफल भयो । तत्कालीन नेकपा(एमाले)को सचेत पहलकदमीको कारण प्रचण्डको विषतुल्य अवधारणाबाट देश मुक्त भएको हो ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएको बखत चीनको भ्रमणबाट फर्केपछि प्रधानमन्त्री भएपछि पहिलो पटक चीनको भ्रमण गर्नु परे पनि आफ्नो पहिलो औपचारिक भ्रमण भारतबाटै हुने बताएका थिए । के पी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि भारतले नेपालविरुद्ध नाकाबन्दी गर्यो । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले बाहिर नाकाबन्दीको विरोध गरे पनि भित्र–भित्र के पी शर्मा ओली र तत्कालीन सत्तारुढ एमालेविरुद्ध भारतीय खुपिया एजेन्सी ‘रअ’संग गोप्य साँठगाँठ गरिरह्यो ।
यो युगका महान राष्ट्रवादी कम्युनिष्ट नेता के पी शर्मा ओली र उनले नेतृत्व गरेको तत्कालीन एमालेलाई प्रतिस्पर्धामा पछाडि पार्न नसक्ने देखेपछि एमालेसंगै एकताको उनकै शब्दमा नौटङ्की गरेर सिध्याउने सपना देखे । र, एकताको हात फैलाए । प्रचण्डको षणयन्त्रकारी चरित्रबारे राम्रो जानकार के पी शर्मा ओलीले उनको चरित्र सुधार्न सकिने पुनित मनसायले देश र जनताको हितका खातिर एकीकृत पार्टीमा आफूसरहकै हैसियत दिएर टुटफुट र विखण्डनबाट बचेको माओवादीमा सामेल गराए ।
प्रचण्डले एकतालाई सके एमालेलाई कब्जा गर्ने नत्र तहसनहस गर्ने षणयन्त्र बनाएकोले के पी शर्मा ओलीले भगिरथ प्रयत्न गर्दा पनि एकतालाई काँचै राखियो । एकतालाई अघि बढ्न दिईएन । पाईलापाईलामा भाँजोमात्र हालियो । सरकारलाई चौतर्फी घेराबन्दी र असहयोग गरियो । दशकौंदेखि भारतले कब्जा गरेको नेपाली भूभाग समेटेर प्रधानमन्त्रीले नेपालको नक्सा सार्वजनिक गरेपछि भारतको डिजाइनमा काम गर्ने प्रचण्डलगायतका नेतालाई खपिसक्नु भएन । र, उनीहरु प्रधानमन्त्रीको विरोधमा सडकमै निस्किए । बल्लबल्ल एकीकृत हुन लागेको कम्युनिष्ट आन्दोलनलाई पुःन विभाजित बनाउन उनीहरुको न्वारानदेखिको बल खर्च हुन थाल्यो । भारतीय खुपियाहरुको डिजाइनमा नेपालको देशभक्तिपूर्ण कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने काममा प्रचण्डको नेतृत्वदायी भुमिका रहदै आएको छ । प्रधानमन्त्रीविरुद्ध १९ पृष्ट लामो आरोप–पत्र लेखेर सार्वजनिक गर्ने प्रचण्ड अहिले नेपाली कांग्रेसलगायतका दक्षिणपन्थी शक्तिसंग मिलेर कम्युनिष्ट नेतृत्वको लोकपृय सरकार ढाल्ने खेलमा अहोरात्र तल्लिन छन् ।
सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नेकपाको सडकमा पोखिएको झगडा पनि संसदभित्र प्रवेश गरेको छ । देशलाई कायाकल्प गर्ने योजनाका साथ अघि बढिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई हटाएर प्रचण्ड आफू प्रधानमन्त्री म्याराथुन दौडमा निस्केका छन् । आफूलाई प्रधानमन्त्री बनाईदिन विभिन्न शक्तिकेन्द्रसंग हार गुहार गर्न शुरु गरेका छन् । उनले ‘म प्रधानमन्त्री बन्दिन’ भन्ने घोषणा बाघले ‘म बाख्रा खाँन्न’ भन्ने घोषणा जस्तै हो ।
प्रचण्ड अहिले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीलाई आफ्नो पक्षमा मनाउन कम्मर कसेर लागिपरेका छन् । के पी शर्मा ओलीलाई हटाउँदा भारतलाई कम्फरटेवल हुने र भारतको सहयोगमा बन्ने सरकारले मात्र नेपाललाई स्थायित्व दिने विचित्रको ‘राष्ट्रवादी’ भाव सम्प्रेषण गर्दैछन् ! तर प्रचण्डबाट विगतमा पटक(पटक धोका खाएका नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका नेताले उनलाई पत्याईहाल्ने अवस्था अहिलेसम्म देखिएको छैन ।
अर्कातिर ‘सत्यसंग नलड्ने र असत्यसंग नझुक्ने’ अडान बोकेका प्रधानमन्त्री के पी शर्मा ओलीले देश र जनताविरुद्ध हुने कुनै पनि षणयन्त्र र चुनौतिको संसदमा डटेर सामना गर्ने बताईसकेका छन् । प्रचण्डसंगका हरेक राजनीतिक खेलमा विगतमा बाजी मार्दै आएका ओली त्यति सजिलै पराजित होलान् भन्ने अनुमान गर्नु हतार हुनेछ । किनभने ओलीलाई धारे हात लगाएर गाली गर्नु एउटा कुरा हो, उनको साहस,ईमान्दारी र क्षमतासंग जुध्नु अर्कै कुरा हो ।
अनि कुनै बेला भन्ने गरिएका ‘दक्षिण एशियाका माओ’, ‘महान जनयुद्धका सूत्रधार’ र ‘गणतन्त्रका पिता’ कमरेड प्रचण्डलाई अहिलेको यो रस्साकस्सी उनकै पतनको अर्को एक अध्याय हुनेछ । त्यसकारण उनी नेपाली राजनीतिको ताजा अण्डा होईन, कुहिएको अण्डा भईसकेका छन् ।प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड–माधवले देखाएको गैह्रकम्युनिष्ट चरित्रले माओले भनेझैं उनीहरु पुरै बदनाम भईसकेका छन् । प्रधानमन्त्री के पी शर्मा ओली त आफ्नो देश र जनताप्रतिको सत्कर्मले हीरासमान चम्किरहेछन् ।
विनाशकाले विपरीत वुद्धि !
प्रतिक्रिया दिनुहोस्