जनता टाइम्स

२८ फाल्गुन २०७७, शुक्रबार १५:३८

प्रचण्डले खोले माधव नेपाललाई दुई म्यान्डेट दिएर एमाले पठाएको रहस्य


बुटवल, फागुन २८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई एमालेमै फिर्ता पठाउनुको रहस्य खोलिदिनु भएको छ । एमालेमा आएको केही दिनमै गुटको भेला जारी राख्नु भएका नेता नेपाललाई दुई वटा म्यान्डेट दिएर पठाएको बताउनु भएको हो ।

प्रचण्डका अनुसार नेपाल समुहले सके एमाले कब्जा गर्ने नभए विद्रोह गर्ने बताउनु भयो । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिनुभयो । ‘फेरि एकतातिर लैजानुपर्छ भन्ने भएकाले पूर्व एमालेका जिम्मेवार कमरेडहरु फर्किएर एमालेमा जान्नौं भन्नुभयो भने हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनुहोला ।’

उहाले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गर्नुभयो । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’ माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उहाको भनाई छ । उहाले सरकारलाई समर्थन दिएको फिर्ता नलिनु चाहेको कारण पनि खुलाउनु भयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिए निर्वाचन हुने र हार्ने भय रहेको घुमाउरो तरिकाले भन्नुभयो । ‘हामीले समर्थन फिर्ता लिने बित्तिकै उनले(केपी शर्मा ओलीले) विश्वासको मत लिनुपर्ने बाध्यता आउँछु, प्रचण्डले भन्नुभयो, ‘हामी नेपाली कांग्रेस र जसपासँग र नेकपा एमाले भित्रै पनि माधवजीहरूसँग सल्लाह गरेरमात्र समर्थन फिर्त लिने पक्षमा छौं। सबैसँग एउटा समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ। त्यसो नगरी समर्थन फिर्ता लिए अप्ठ्यारो स्थिति आउँछ ।’