जनता टाइम्स

२ चैत्र २०७७, सोमबार ०८:३६

दुई पाइलटले जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हाने : प्रधानमन्त्री ओली


काठमाडौं, चैत्र २। सत्तारूढ नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता नलिएको बताउनुभयो ।

‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ पत्रकार ऋषि धमलाले आइतबार बेलुकी लिएको टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिनसमेत चुनौती दिनु भएको छ । साथै प्रधानमन्त्री ओलीले आफूलाई मन नपाउने भनेर माओवादी केन्द्रतर्फ संकेतसमेत गर्नुभएको थियो । समर्थन फिर्ता लिए भो नि त,’ प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘तर फिर्ता त लिएको छैन अहिलेसम्म।’ प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेकोसमेत उहाँले बताउनुभयो ।

‘हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ?,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । तत्कालीन एमाले र माओवादी एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि त्यसबेला प्रधानमन्त्री ओलीले नै जेट विमान हाँक्न दुई पाइलट चाहिने उल्लेख गर्नुभएको थियो ।

साथै प्रधानमन्त्री ओलीले जनादेशविपरीत हुने खालका कामहरू गर्न आफू तयार नभएको बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री छाड्नेबारे कुनै प्रस्ताव आफूले नराखेको प्रधानमन्त्री ओलीको दाबी थियो। प्रधानमन्त्री ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको पनि बताउनुभयो । आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने ओलीको भनाइ छ।