जनता टाइम्स

१ बैशाख २०७८, बुधबार १५:५०

लकडाउनबारे प्रधानमन्त्री ओलीले खोल्नुभयो मुख, जनतालाई नै दिनुभयो यी दुई बिकल्प


काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

‘नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो,’ प्रधानमन्त्री ओली भन्नुभयो, ‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।’ उहाँले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताउनुभयो । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सरकार सफल भएको उल्लेख गर्नुभयो ।

सकेसम्म बन्दाबन्दी हुन्न

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूमा कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गरिएको भए पनि अहिलेकै अवस्थामा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै नेपाली जनताको सुरक्षाका लागि सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड–१९ को सामना गर्नुपरेको तर्क गर्दै उहाँले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताउनुभयो ।

‘२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपुर्याइयोस् भनेर सरकारले काम गरिहरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गर्नुभयो । विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपलब्धिको वर्ष रहेको बताउनुभयो ।