जनता टाइम्स

११ बैशाख २०७८, शनिबार २०:०३

कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाएर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन प्रधानमन्त्रीको सीसीएमसीलाई निर्देशन


काठमाडौं, बैशाख ११

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाएर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार मा कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले कार्ययोजना बनाएर अब आउने मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिनु भएको छ । ‘स्वास्थ्य मापदण्डको पालनासम्बन्धी सरकारको आदेश कार्यान्यवन गर्न, परीक्षण कम भएको गुनासो आइरहेको छ, त्यसलाई बढाउन, भेन्टिलेटर कम छन् भने थप्नुपर्छ, दातासँग मागेर हुन्छ कि, किनेर हुन्छ कि तुरुन्त थप्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।