काठमाडौं, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिरहेको भन्दै सचेत अपिल गरेको छ । मन्त्रालयले संक्रमण तीब्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न सर्वसाधारणहरूलाई अनुरोध पनि गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो । २२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको छ ।
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयको बिज्ञप्तीमा भनिएको छ,’ संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू (मास्क लगाऔं, भौतिक दुरी पालना गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔं) नै उत्तम उपाय हुन ।’ यसैगरी मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण रूपमा नगर्न अपिल गरेको छ ।














प्रतिक्रिया दिनुहोस्