जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १५:३२

माधवको प्रस्तावमा योगेशको कडा प्रतिवाद


काठमाडौं, जेठ २१

‘हाम्रो साथमा पनि आयाराम गयारामहरु हुन्छन्, त्यस्ताहरु आइरहन्छन्, गइरहन्छन्’– माधवकुमार नेपालले भन्नुभयो । उहाँले एमालेमा नफर्कने, अलग बाटो लिने घोषणा गर्नुभएको छ । अगुवा कार्यकर्ता तथा समानान्तर रुपमा बनाइएका ससाना जनवर्गीय संगठनका अगुवाहरुलाई उहाँले सो कुरा बताउनुभएको हो ।

आयाराम गयाराम चाहिँ उहाँले योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरुले पार्टी संस्थापन पक्षसँग बढाइरहेको हिमचिमको प्रसंगमा भन्नुभएको हो । उहाँको भनाई थियो– ‘केही मान्छे घटेर फरक पर्दैन, अझै अरु पनि उता जान सक्छन्, जबसम्म हामीसँग सही विचार हुन्छ– मान्छे घटेर फरक पर्दैन । सही विचार छैन भने मान्छेको संख्या बढेर पनि अर्थ हुँदैन ।

’माधव नेपालले आजकाल प्रत्येक दिन विभिन्न फाँटका अगुवा कार्यकर्तासँग जुममा छलफल गरिरहनुभएको छ । योगेश घनश्यामहरुले संस्थापन पक्षसँग बढाएको निकटतालाई लक्षित गर्दै माधवले सो कुरा बताउनुभएको हो । मिटिङमा सहभागी एक नेताले बताए– ‘योगेश, घनश्याम लगायतलाई लक्षित गरेर माधवले आयाराम गयाराम भन्नुभएको हो ।’ आयाराम गयाराम भारतीय शब्दावली हो । भारतमा पार्टी फेरिरहनेलाई आयाराम गयाराम भनिन्छ ।

तर नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको तर, एकता भनेको आत्मसमर्पण नभएको बताउनुभएको छ । शुक्रबार माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताउनुभएको हो ।

‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो’, भट्टराईको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो , ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो। केपी ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो।’ उहाँले एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि मात्र भएको उल्लेख गर्नुभयो ।

भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन्। भट्टराईले पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको समेत उल्लेख गर्नुभएको छ ।