काठमाडौं, असार १२ । नयाँ पार्टी खोलेर माओवादीमा बिलय हुने प्रचण्डसँगको पूर्वसहमति अनुसार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिपक्षी गठबन्धनमा सामेल भएको तथ्यहरुले देखाएको छ । एमालेबाट निश्काशित नेता नेपाल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको बिपक्षी गठबन्धनमा सहभागी हुनुहुन्छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट हुनुभएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध एक भई नेकपाको फरक खेमा बनाई शक्ति बाँडफाँड गरी दुवै नेता अध्यक्ष हुनुभएको थियो । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा फर्किनुभयो । तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा हुनुहुन्छ ।
प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जसअनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनै सहभागी हुनुहुन्छ ।
जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसक्नु भएको छ । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा हुनुहुन्छ । उहाँले एमालेमा अव फर्कन नसकिने निश्कर्षसहित नयाँ दल खोलेर बढ्ने रणनीति बनाउनु भएको हो । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।
नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसक्नु भएको छ । एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढेका छन् । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने भन्दै एमालेमा बढी क्षती पुर्याउन दुवै नेता केन्द्रित हुनुभएको छ ।
एमाले नफर्कने भएकै कारण एकतामा नयाँ नयाँ शर्त माधवले थोपर्नुभएको छ । माधवसँग मिलेर जानकै लागि माओवादी केन्द्रले पनि बहुपदमा जाने तयारी अघि बढाएको छ । स्थायी कमिटी र पोलिटब्यूरो थप गर्दैछ । भविष्यमा माधव नेपाल खेमासँग एकताका लागि यो पूर्वतयारी रहेको बुझिएको छ । प्रचण्ड र माधवले यसको खाकासमेत बनाइसकेका निकट नेताहरुले बताएका छन। ।













प्रतिक्रिया दिनुहोस्