जनता टाइम्स

१७ असार २०७८, बिहीबार १६:२०

मन्त्रीको कुलदेवतालाई करोड, मन्दिरमा करोडौं बजेट खन्याएपछि दुरुपयोग हुने आशंका


काठमाडौं, असार १७

सुदूरपश्चिममा मन्दिरका योजनामा १७ करोड बजेट छुट्याइएको छ । सुदूरपश्चिमले मन्दिरलगायतका धार्मिक स्थलका नाममा करोडौं रकम खर्च गर्नका लागि अगामी वर्ष पनि निरन्तरता पाउने भएको छ । विगतमा जस्तै प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि दुई अर्ब ११ करोड बजेट पाएको मन्त्रालयले पर्यटन क्षेत्रमा झण्डै २५ प्रतिशत ५२ करोड बजेट छुट्याएकोमा मन्दिर, चर्च र गुम्बा तथा विभिन्न संरचना निर्माण शीर्षकमा मात्रै झण्डै १७ करोड रुपैयाँ छुट्याइएको छ । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर रहेको छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेटको झण्डै एक तिहाइ बजेट मन्दिरलगायतका धार्मिक संस्थाकै नाममा दिइएको हो ।

त्यस्तै प्रदेश सरकारले मन्दिर निर्माणको एउटै योजनामा एक करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ । शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।

मन्दिर निर्माणकै एउटा योजनामा एक करोड, ५० लाख दरको दुई वटा योजनामा एक करोड, २५ लाख दरका दुई वटा योजनामा ५० लाख, ३० लाखको एउटा योजना, २० लाखका दुई योजनामा ४० लाख र एउटा योजनामा १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले दुईदेखि तीन लाख रुपैयाँ लागतका दर्जनौं योजना पनि बजेटमा समावेश गरेको छ । तीन वटा गुम्बा निर्माणका लागि ४० लाख र एउटा चर्चका लागि ५ लाख रुपैयाँ बजेट पनि छुट्याइएको छ । जसमा गुम्बामा २५ लाख, ८ लाख र ७ लाखका योजना छन् । सरकारले विगतका वर्षमा जस्तै केहीबाहेक अधिकांश कुलदेवता, समुदाय र जात विशेषका मन्दिरमा करोडौं बजेट खन्याएपछि दुरुपयोग हुने आशंका गरिएको छ ।

यता मन्त्री धामीका अुनसार सामाजिक र सांस्कृतिक परम्पराका कारण मन्दिरका योजना कटाउन समस्या भएको हो । उहाँले समुदाय र जात विशेषका मात्र नभएर धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएका मन्दिरहरुका लागि समेत सरकारले बजेट छुट्याएको बताउनुभयो । यसअघि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा मन्दिर निर्माणमा ३० करोड, आर्थिक वर्ष २०७६/७७ मा १६ करोड र चालु आर्थिक वर्षमा करिब २४ करोड बजेट विनियोजन गरेको थियो ।