जनता टाइम्स

१७ असार २०७८, बिहीबार २२:१४

हुम्लामै प्रेस पास : पचास हजारसम्मको रकम बचत



सिमकोट, असार १७। हुम्लाका सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पास पाउन काठमाडौँ आउँदा–जाँदा खर्चनुपर्ने पचास हजारसम्मको रकम बचत भएको छ । जिल्लामै एकीकृत प्रेस शिविर सञ्चालन गर्न विभाग र प्रेस काउन्सिल नेपालसहितको टोली आएपछि पत्रकारले राहत महसुस गरेका हुन् ।

विभागका निर्देशक भरत गौतमले तीनदिने शिविरका क्रममा जिल्लामा विभिन्न सञ्चारमाध्याममा आबद्ध ३३ सञ्चारकर्मी, दुई अनलाइन नयाँ दर्ता, एक अनलायनको नवीकरण भएको बताउनुभयो । दुई सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर पास लिएका छन् । निर्देशक गौतमले विकटमा काम गर्ने सञ्चारकर्मीको समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

सिमकोट टाईम्समा आबद्ध पत्रकार लोग भण्डारीले जिल्लामै सञ्चालन भएको शिविरबाट पहिलो पटक प्रेस पास लिन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

काउन्लिका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको बताउनुभयो ।

शिविरमा पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा न्यूनतम् पारिश्रमिकका बारेमा पनि जानकारी दिइएको थियो ।