जनता टाइम्स

२३ असार २०७८, बुधबार १६:२६

जसपाबारे निर्णय लिन निर्वाचन आयोगले गठन गर्‍यो विशेष इजलास


काठमाडौं, असार २३ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवाद समाधान गर्न निर्वाचन आयोगले बिशेष इजलास गठन गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बुधबार इजलास गठन भएको हो। इजलासमा आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सदस्य रहनुभएको छ । आयोगका अनुसार साउन ३ गते ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने छ ।

आयोगले जसपाका दुबै पक्षलाई आफ्ना आधिकारिक प्रतिनिधि पठाउन पत्राचार गरेको छ। कुनै पक्षको प्रतिनिधि अनुपस्थित भए पनि सुनुवाई भने नरोकिने आयोगले जनाएको छ।

आयोगमा दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गरेका छन्। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले मंगलबार सहमति दिएपछि आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको हो।