जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १२:०५

एमालेमा कार्यदलको सहमति कार्यान्वयन, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत


काठमाडौं, साउन ४ । माधव नेपालले गद्धारी गरेसँगै नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षधर नेताहरु भने सहभागी छैन । तर नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको छ । नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

यसअघि फागुन २८ देखि यसबीचाम एमालेका चारवटा बैठक सकिएर आजको बैठकलाई चौधौं भनिएको थियो । नेपाल पक्षले भने दशौं हुनुपर्ने भनेको थियो । एमालेले माधव नेपाल एमालेमा नफर्के पनि अन्य नेताको स्वाभिमानका लागि दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो ।

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदलाई एमालेबाट बिदा गर्ने बुझिएको छ । कार्यकर्ता तहबाट तत्काल निश्काशन गर्न दवाव बढेपछि एमाले यस्तो बाटोमा हिडेको हो ।