जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १४:०९

व्यवसायीले दिए सरकारलाई चुनौती : लकडाउन गरे प्रतिकारमा उत्रने


काठमाडौं, साउन २८ । उद्योगी व्यवसायीले फेरि निषेधाज्ञा वा लकडाउन गरे सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । साँझ ८ बजेपछि सार्वजनिक सवारीसाधन नचलाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेपछि व्यवसायीले फेरि निषेधाज्ञाको संभावना बढेको अनुमान गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुको सरकारलाई प्रश्न छ– साँझ परेपछि मात्रै कारोना सर्ने हो ? कोरोनाका कारण ३ वर्षदेखि डामाडोल व्यवसाय लयमा फर्कने आश गरेका व्यवासायी सरकारका पछिल्ला नियमबाट तर्सेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ भने साँझ ७ बजेसम्म मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले माइकिङ गरिरहेको छ ।

कोरोनाका करण यातायात, होटल, पर्यटन, साना व्यवसाय र विद्यालयलगायत क्षेत्र उठ्नै नसक्ने गरी थला परेका छन् ।कोरोना संक्रमण दर बढे पनि राजनीतिक भेला तथा सभा भइरहेकोप्रति आपत्ति जनाउँदै व्यवसायीले व्यवासाय चलाउँदा मात्रै कोरोना सर्ने हो ? भनी प्रश्न गरिरहेका छन् । निजी क्षेत्रका सबै संस्थाहरुले कोरोनाविरुद्धको खोप लगाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारसँग कोरोनाविरुद्धको खोप मागिरहेका छन् । चेम्बरले सरकारसँग नेपालमा आयत भएको कोरोनाखोपको न्यूनतम १० प्रतिशत निजी क्षेत्रलाई दिन माग गरेको छ । पेट्रोलियम पदार्थ आयत गर्ने ढुवानी व्यवसायीले ढुवानी नै बन्द गरेर आन्दोल गरेपछि मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए । अन्य व्यवसायी पनि खोप नपाए आन्दोलन गर्ने सोचमा पुगेका छन् । सरकारले चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएको छ ।व्यापारी, उद्योगी र विभिन्न सेवा प्रदायक कम्पनीले आफूहरु फ्रन्टलाइनर भएकाले चाँडै खोप पाउनुपर्ने माग गरिरहेका छन् । यातायात, ढुवानी, विभिन्न सेवा प्रदायक कम्पनीका केही कर्मचारीले भने कोरोनाविरुद्धको खोप लगाएसकेका छन् ।

प्रतिकार गर्ने तयारीमा व्यवसायी

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सरकारले समय तोक्दैमा कोरोना संक्रमण नरोकिने बताउनुभयो । ‘सरकारले व्यवसायमा समय तोकेर मात्रै कोरोना नियन्त्रण हुँदैन । मास्कको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्दै व्यवासाय सञ्चालन गर्न पाउनुपर्छ । सधैं कोरोनाको नाममा आर्थिक क्षेत्र ठप्प पार्नु हुँदैन’, उउहाँले भन्न्ुभयो , ‘८ बजेदेखि नै सवारीसाधन ठप्प पार्नु अव्यवहारिक हुनेछ ।’

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अब पनि बन्द भए व्यापारी चुप लागेर नबस्ने बताउनुभयो । उहाले भन्नुभयो, ‘सरकारले घर भाडा र बैंकको लोनका विषयमा केही बोल्दैन । जहिले पनि बन्द गर्ने मात्रै भन्छ भने हामी त्यसको प्रतिकारमा उत्रन्छौं । अब पनि बन्द गर्ने हो भने क्षतिको जिम्मा सरकारले लिनुपर्छ ।’ व्यापारीलाई सरकारले आत्महत्या गराउन खोजेको उहाँको भनाइ छ । ‘जसरी पनि मर्नै पर्ने भएपछि हामी सरकारविरुद्ध सडकमा उत्रन्छौं’ उहाले भन्नुभयो । बन्दको विरोध गर्दै आइरहेको राष्ट्रिय व्यवसायी महासंघले पहिले पनि लकडाउनको बीचमा नै पसल सञ्चालन गरेर विरोध जनाएको थियो । उनीहरुले अब पनि बन्द भयो भने चुप लागेर नबस्ने बताइरहेका छन् ।