जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १५:३३

एमाले विभाजित भएको होइन, चोइटो उछिट्टिएको हो : अध्यक्ष ओली


काठमाडौं, भदौ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको, एउटा चोइटो उछिट्टिएको टिप्पणी गर्नुभएको छ । एमाले विभाजित भएको भोलिपल्ट आज प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । न्यूज एजेन्सी नेपालसँग उहाँले भन्नुभयो, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’

अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उहाँकै विवेकको कुरा भएको समेत बताउनुभयो । उहाँले एकै ठाउँ आउन नसक्ने चुम्बकका दुई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो,‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ । बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ । बलका अघि कुनै बन्धनको केही लाग्दैन। नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन् ।’

आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उहाँले दाबी गर्नुभयो । उहाँ आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको पनि जिकिर गर्नुभयो । ‘मैले नेपालाई भेट्छु भनेर आफैं कुरा गरें। उनले भट्दिनँ भने। गत दुई वर्षमा उनले एउटा फोन गरेका छैनन्। प्रधानमन्त्रीकोमा आउँदिन भन्दा उनले भनेको ठाउँमा पुगेको छु,’ उहाँले थप्नुभयो ।

अध्यक्ष ओलीले अहिले मात्रै नभएर सुरुदेखि नै पार्टी एक बनाउन लागिरहनुभएको थियो । उहाँले भन्नुभयो, ‘पार्टी एकताबद्ध राख्ने कोशिसै गरेन भन्ने कुरा सही होइन, ५१ वर्षअघि जति कम्युनिष्ट पार्टी स–साना टुक्रामा थियो। पार्टी जस्तो एउटा पनि पार्टी थिएन। त्यही बेला एकताको आन्दोलन सुरु गरेको थिएँ।’ उहाँले एमालेमा अन्तरकलह नभइ नेपालको निहुँ खोजाइमात्रै भएको दाबी गर्नुभयो ।