जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १०:२७

गाउँपालिकाको सहयोगपछि व्यावसायिक बन्दै बाख्रापालन


पाँचथर, भदौ ८ । याङवरक गाउँपालिका–५ नागीका रामकुमार गुरागाईंले विगतमा सानो परम्परागत खोरमा बाख्रा पाल्दै आउनु भएको थियो । प्रायः नगदेवाली र खेतीका काममा व्यस्त हुने रामकुमार जस्तै यहाँका किसानलाई दिउँसोको समयमा खोरबाट बाख्रा निकालेर अन्यत्रै सार्न, फेरि बेलुकी खोरमै थन्काउन झन्झट हुन्थ्यो । यही कारण यहाँका व्यावसायिक रूपमा बाख्रा पालन हुँदैनथ्यो ।

तर गुरागाईले अहिले बाख्रापालनलाई बढाउँदै लैजानुभएको छ । याङवरक गाउँपालिकाले व्यावसायिक बाख्रापालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहयोग गरेपछि गुरागाईंका घरमा बाख्राको नयाँ र आकर्षक खोर बनेको छ । बाख्रा थप्दै लगेका उहाँले भन्नुभयो, ‘व्यवस्थित खोर निर्माण गरेकाले अहिले धेरै सजिलो भयो । अब बाख्रा थप्दै लान्छु ।’

याङवरक–६ नागीकै कात्तिकेका भीम पुरीले व्यावसायिक बाख्रापालन थालेका छन् । ‘हाम्रो क्षेत्रमा घाँस प्रशस्तै पाइन्छ । त्यसैले एक सयवटा बाख्रा पु(याउने लक्ष्यसहित बाख्रापालन थालेको छु,’ पुरीले भन्नुभयो, ‘मासुको मूल्य राम्रो रहेकाले ढुक्कसाथ यो पेसामा लागेको हुँ ।’ उहाँले हालसम्म करिब तीन लाख रूपैयाँ खर्च गरेर बाख्राको व्यवस्थित खोर निर्माण गर्नुका साथै बाख्रा थप गर्नुभएको छ । पुरीले सुरु गरेको व्यावसायिक बाख्रापालनमा अहिले ४० वटाभन्दा बढी बाख्रा र पाठापाठी छन् ।

याङवरक–६ नागीकै सीता खड्का गुरागाईंको परिवारले पनि आकर्षक खोर निर्माण गरी ब्यावसायिक बाख्रापालन थाल्नुभएको । काबेली नदी जोड्ने ग्रामीण सडकको छेउमा निर्माण गरिएको गुरागाई परिवारले निर्माण गरेको बाख्राको खोर बाटोमा यात्रा गर्ने धेरैले हेर्दै हिँड्छन् । ‘अहिले नयाँ खोर बनाएपछि धेरै सजिलो भएको छ,’ गुरागाईंले भन्नुभयो, ‘अब बाख्रा थप्दै लैजान्छौँ । बाख्रा पाल्न सजिलो, अरु काम पनि भ्याइने र छिट्टै आम्दानी पनि हुने भएकाले यसलाई मुख्य पेसा बनाउने प्रयासमा छौँ ।’

याङवरक गाउँपालिका–६ का १० परिवार किसानले व्यावसायिक बाख्रापालन प्रवद्र्धन कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत लागत साझेदारीमा सहयोग प्राप्त गरेपछि बाख्रापालनले व्यावसायिक रूप लिएको हो । आ.व. ०७७र७८ मा गाउँपालिकाले व्यावसायिक बाख्रापालन प्रवद्र्धनका लागि १० लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो । जसमध्ये पाँच लाख वडा नम्बर ६ का लागि विनियोजन भएको थियो । उक्त बजेट वडामा कावामा कृषक समूहले प्राप्त गरेको थियो ।

४१ परिवार आवद्ध रहेको यो समूहले समूहमा आवद्ध भएकामध्येबाट १० परिवारलाई ५० प्रतिशत लागत साझेदारीमा बाख्रापालन प्रवद्र्धनका लागि ५० हजारका दरले रकम दिएको समूहका सचिव एवं याङवरक गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य यामकुमार काम्बाङले बताउनुभयो । ‘तीन माउभन्दा बढी बाख्रा पालिरहेकामध्ये सदस्यहरूबाट लागत साझेदारी गर्ने कृषक छनोट हुनुभएको थियो’, काम्बाङले भन्नुभयो, ‘लागत साझेदारी रकम पाएका सहित अन्य कृषकहरूले समेत व्यावसायिक बाख्रापालन थाल्नुभएको छ ।”

याङवरक गाउँपालिकाले यसअघि वडा नम्बर ३ ओयाममा समेत व्यावसायिक बाख्रापालन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिसकेको छ । ‘कृषकहरूलाई कृषि र पशुपालनमा व्यावसायिक बनाउन लागत साझेदारीमा सहयोग गर्ने कार्यक्रमलाई विगतका आर्थिक वर्षहरूबाटै निरन्तरता दिइँदै आएको छ’, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, ‘यसप्रकारका कार्यक्रमले राम्रो परिणामसमेत दिएका छन् ।’

पछिल्लो समय जिल्लामा बाख्रापालनले व्यावसायिक रूप लिन थालेको छ । यहाँ व्यापारीहरूले गाउँ–गाउँमा पुगेर प्रतिकिलो ६ सयभन्दा बढी रुपैयाँमा जिउँदो खसीबाख्रा खरिद गर्ने गरेका छन् । खसीबाख्राको धेरै मासु जिल्लामै खपत हुन्छ भने केही जिल्ला बाहिरसमेत निर्यात हुँदै आएको छ । खेतीयोग्य जमिन बाँझिने क्रम बढेसँगै जिल्लाका अन्य स्थानमा समेत व्यावसायिक रूपमा बाख्रापालन गरी त्यस्तो जमिनको सदुपयोग गर्ने क्रम बढेको छ ।