जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १४:०१

एमाले अध्यक्ष ओलीको प्रश्न : सभामुख न्यायालय हो, न्यायधिस बन्न मिल्छ ?


काठमाडौं, भदौ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख पदको दुरुपयोग गर्दै न्यायलय बन्न खोजेको बताउनुभएको छ । एमाले पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै सभामुख अग्नि सापकाटालाई प्रश्न गर्नुभएको हो । उहाँले भन्नुभयो,‘एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुख आफै न्यायालय हो ? सभामुख न्यायधिस बन्न मिल्छ ? नैतिकताको प्रश्न उठ्दैन ?’ उहाँले पार्टीले कारवाही गरिसकेपछि सभामुखले कारवाहीलाई विचाराधीन राख्ने अधिकार नभएको सुनाउनुभयो ।

उहाँले थप्नुभयो, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न पो जानुभएको थियो ।’ उहाँले भन्नुभयो, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो ?’ अध्यक्ष ओलीले आफ्नो पार्टी विभाजनबाट रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो । १४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा बन्न सक्नुभएन ।’