जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १९:३५

भुँईमा नपुगी बिलाउँछ माधवको पार्टी


माधवले अहिले बनाएको पार्टीलाई त्यही जगमा उभिएको प्रतिक्रियावादी शक्तिको पिछलग्गु शक्तिको रूपमा बुझ्नु पर्छ । एमालेको सरकारले गरेका राम्रा कामलाई स्वीकार्न नसक्ने शक्ति, ओलीको अकण्टक राष्ट्रवादी अडानलाई कमजोर बनाउने दुरासय बोकेको शक्ति, भारतलाई खुसी पारेर आफ्नो निहीत स्वार्थ पूरा गर्ने दुराशयमा जन्मेको शक्तिको रूपमा यसलाई बुझ्न सकिन्छ

निर्मल भट्टराई

देशको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट चोइटिएर नेकपा(एकीकृत समाजवादी) बनेको छ । माधव नेपालले बटुलेको करिब बीस प्रतिशत एमालेको शक्तिलाई देउबाले अध्यादेशको पानी छर्केपछि र सभामुखले ऐनविपरीत एमालेका १४ सांसदको पद खारेजीको सूचना लुकाएर यो दलको न्वारान भएको छ । गणितीय हिसाबले माधवको पार्टी संसद्‌मा चौथो शक्तिको रूपमा रहेको छ । गणितमा जति भए पनि ती आफ्ना बल बुताले जनताबाट निर्वाचित भएका होइनन् । एमालेको ब्राण्ड र ओलीको लोकप्रियताको फाइदा उठाएर तिनीहरू एमालेको सांसदको रूपमा संसद्‌मा पुगेका हुन् ।

अहिले दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको उक्साहटमा, मन्त्री पदको लोभमा यो शक्तिलाई जन्माइएको हो । यो शक्ति एमालेलाई प्रहार गर्न शिखण्डीको रूपमा आगामी चुनावसम्म प्रयोग गर्न देशी-विदेशी प्रतिक्रियावादी शक्तिको आडमा खडा भएको अत्यन्त अस्थायी छिछिमिरे शक्ति हो । वैचारिक रूपमा टाट उल्टिएको र साङ्गठानिक रूपमा उत्तानो पारिएको सोलीजस्तो शक्ति हो । जनताको बलले नभै जाल, झेल, षणयन्त्र र असम्वैधानिक समागमको कारण जन्मेको अवैध शक्ति हो । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्तामा आएपछि नेपाललाई एक स्वतन्त्र, सबल र सार्वभौम राष्ट्रको रूपमा विकास गर्न शुरू गरेपछि हाम्रा छरछिमेकका परम्परावादी हस्तक्षेपकारी शक्तिलाई ओलीका कदम सह्य भएको थिएन ।

भारतको इच्छाभन्दा देशको स्वार्थबमोजिम ओली चल्न थालेको मोदी सरकारलाई मन परेको थिएन । विगतमा व्यवहारतः एकपाखे विदेश नीति अवलम्बन हुँदै आएकोमा ओलीले सन्तुलित परराष्ट्र नीति अङ्गिकार गरे । साविक नेकपाका प्रचण्ड र माधवलाई यो मन परेन । उनीहरूको असन्तुष्टिको पारोले त्यतिवेला हद नाघ्यो, जतिबेला ओलीले आफ्नो देशको हडपिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा प्रकाशन र प्रचलनमा ल्याए । त्यसपछि त उनीहरू खुलम्‌खुल्ला भारतको पक्षमा बर्बराउन थाले । नेपालमा भारतको लागि कम्फरटेवल सरकार बनाउन आवश्यक छ भन्न थाले । ओली नेतृत्वको सरकार ढाल्न भारतपरस्त शक्तिसँग जबर्जस्त साँठगाँठ गर्न थाले ।

माधवले अहिले बनाएको पार्टीलाई त्यही जगमा उभिएको प्रतिक्रियावादी शक्तिको पिछलग्गु शक्तिको रूपमा बुझ्नु पर्छ । एमालेको सरकारले गरेका राम्रा कामलाई स्वीकार्न नसक्ने शक्ति, ओलीको अकण्टक राष्ट्रवादी अडानलाई कमजोर बनाउने दुरासय बोकेको शक्ति, भारतलाई खुसी पारेर आफ्नो निहीत स्वार्थ पूरा गर्ने दुराशयमा जन्मेको शक्तिको रूपमा यसलाई बुझ्न सकिन्छ । त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीका योगदानलाई निषेध गर्न जन्माइएको शक्ति, नेपालको राजनीतिमा एमालेको सुनौलो उपस्थितिलाई धूमिल बनाउन ओथरा काडिएको शक्ति, एमालेले ल्याउन खोजेको विकास र समृद्धिलाई पथभ्रष्ट बनाउन खडा गरिएको एक नितान्त अस्थायी शक्तिको रूपमा यो समूहलाई हेरिनुपर्छ ।

जतिबेला नेपालको राजनीतिमा निकै लोपप्रिय भएर आउँछ, त्यतिबेला एमाले विभाजन गर्न देशी-विदेशी प्रतिक्रियावादी शक्ति लागेको यो नौलो घटना होइन । मनमोहन अधिकारी नेतृत्वमा ०५१ सालमा बनेको लोकप्रिय कम्युनिष्ट सरकारको कारण एमालेको उचाइ ह्वात्तै बढेको थियो । एकातिर नेपालको कम्युनिष्ट आन्दोलनलाई दिग्‌भ्रमित बनाउन माओवादको नाउँमा ‘जनयुद्ध’ शुरू गरियो भने अर्कोतिर ०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको ठूलो सफलतालगत्तै पार्टी विभाजनका खेल भए । कसैले उक्साउँदा धोती फुस्केको थाहा नपाउने बामदेव गौतमको अगुवाइमा एमाले फुटाइयो । र, ०५६ को आम निर्वाचनमा एमालेको विजयलाई रोकियो । इतिहासमा फेरि एमाले लोकप्रियताको शिखरमा पुगेको बेला एमालेलाई चोइट्याउन कम्युनिष्टविरोधी शक्तिहरू सफल भएका छन् ।

मरूभुमिमा पानीको लागि मृग दोडेजसरी सधैं पदको पछाडि दौडने माधव नेपालको अगुवाइमा बनेको यो समूह जनताको प्रथमनजरमा नै बदरभागी भएको छ । केन्द्रमा चौथो शक्तिको रूपमा देखिए पनि प्रदेशमा यसको कुनै उपस्थिति हुने छैन । सातै प्रदेशमा एमाले लगभग एक ढिक्का छ भने स्थानीय तहका सबैजसो पदाधिकारी एमालेकै पक्षमा खुलिसकेका छन् । पाँच वर्षसम्म एमालेको जनप्रतिनिधिको रूपमा राम्रो काम गरेका स्थानिय जनप्रतिनिधिहरू अर्को चुनाव नजिकिंदै जाँदा पार्टीको पहिचान नै गुमाएर माधव नेपालको पार्टीमा लाग्ने सम्भावना छैन । आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर माधव नेपालको क्षणिक स्वार्थको पछि कोही लाग्दैन ।

स्थानिय तह र प्रदेशमा एमाले नेता कार्यकर्ता नेपाली काङ्ग्रेससँग हरपल प्रतिस्पर्धामा रहेका छन् । कहीं कहीं माओवादीसँग प्रतिस्पर्धामा छन् । कोही पनि एमाले कार्यकर्ता नेताहरूले काङ्ग्रेससँग धेरै चोचोमोचो गरेको पटक्कै मन पराउँदैनन् । अहिलेको माधव नेपालको देउबाप्रतिको एकोहोरो आत्मसमर्पण एमालेका स्थानिय नेता कार्यकर्ताले दुत्कारेका छन् । हिजो बनेका अधिकांश समानान्तर कमिटीहरू माधव छोडेका दोस्रो तहका नेतामार्फत् एमालेमै धमाधम समाहित भएका छन्, हुँदैछन् ।

परमादेशको बलमा आएको सरकारको भगिरथ प्रयत्नमा संसद्‌मा जन्मिएको शक्ति जनतामा नपुग्दै विलाउने निश्चित प्रायः छ । जनता समर्थन नपाएपछि छिछिमिरा केही छिनमै विलाएजस्तो आगामी आम निर्वाचनपछि हराउँछ । हुने त्यत्ति हो, बामदेव विभाजनजस्तै एमालेको अलिकति कार्यकर्ता-शक्तिको क्षयीकरण हुन्छ । त्यसको क्षतिपूर्ति गर्न एमालेले अलि बढी मेहनत गर्नु पर्छ ।वैचारिक- साङ्गठानिक अभियान सञ्चालन गर्नु पर्छ ।