जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार ०९:०५

महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत


महोत्तरी, १२ भदौ । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेको थियो । तर १० भदौ यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन । उहाँ रातु नदी पुग्नुहुन्छ, नदीले खेत कटान गरिरहेको हेर्न विवश हुनुहुन्छ । उहाँका अनुसार रातु नदीले उहाँसहित स्थानीयको ८ कठ्ठा खेत कटान गरिसकेको छ । खेत बगर बनेको छ।

बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेको छ । रातु नदीको बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ ।

प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणको काम भइरहेको स्थानीय वसन्तराज साहले जानकारी दिनुभयो । रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणको तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताउनुभयो । अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन् । टहराबाट पानी चुहिएर समस्या भएको मुसहर वस्तीका सुनिल सदाले बताउनुभयो । न्युज कारखाना