जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १०:०२

माधव नेपालले एमाले छिया–छिया पार्ने कसम खाएको सांसद रानाले गरे खुलासा


काठमाडौं, भदौ १३ । नेकपा एमालेका नेता एवं सांसद् नारदमुनी रानाले माधवकुमार नेपाल राजनीतिको गतिबाट आउट हुँदै गएको बताउनु भएको छ । कैलाली-काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा नेता रानाले भन्नुभयो –एक किसिमले भन्ने हो भने उहाँहरु राजनीतिको एउटा गतिबाट आउट हुँदै जानुभएको छ । एमालेमा छँदा पार्टीभित्र देखाएको अस्वस्थ गतिविधि, अनुशासनहिनताको पराकाष्ट, पार्टी विभाजनसम्मको नालायकीपन देखाएका माधवहरुबारे इतिहास र नेकपा एमालेका कार्यकर्ताले मूल्यांकन गर्ने उहाँले बताउनुभयो ।

एमालेबाट चोइटिएर एकीकृत समाजवादी पार्टीका नाममा एमालेमाथि गर्ने हरेक व्यवहारको जनताले हिसाब राख्ने पनि नेता रानाले बताउनुभयो । भदौ ८ गते बसेको एमाले स्थायी कमिटी बैठकमा माधव नेपालको हर्कतको खुलासा भएको नेता रानाले बताउनुभयो । पहिला माधवसँगै रहनुभएका पार्टी एकता पक्षधर नेताहरुले एमालेबाट चोइटिनबाट रोक्न गरिएका सबै प्रयास असफल भएपछि आफूहरुले उहाँको साथ छोडेको स्थायी कमिटी बैठकमा सुनाउनुभएको रानाले बताउनुभयो ।

बैठकमा भन्नुभयो,’माधव नेपालबाट हार खाएर हामी नेकपा एमालेमा छौं, माधवले नेकपा एमाले विभाजन गर्ने कसम, एमाले अध्यक्षलाई सरकार र प्रधानमन्त्रीबाट हटाउने कसम, प्रतिक्रियावादी सरकारलाई सहयोग गर्ने कसम र पुष्पकमल दाहाल प्रचण्डसँग एमालेलाई छिया-छिया पारेपछि फेरि घाँटी जोड्ने कसम खानुभएको छ ।’ नेकपा एमालेको भदौ १० गते बसेको एमाले केन्द्रीय कमिटी बैठक ए‍ेतिहासिक रहेको पनि नेता रानाले बताउनुभयो ।