जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १४:०६

नेपाली डिफेण्डर रोहित सम्मिलित पर्सिजाको खेल आज


काठमाडौं, २० भदौ । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दैछ । आज पर्सिजाले पहिलो चरणको खेलमा पिएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । इन्डोनेसियाको शिर्ष डिभिजन लिग गत शुक्रबार नै सुरु भएको हो ।

रोहित सम्मिलिन पर्सिजाको भने आज खेल रहेको छ । पिएसएस स्लेमनविरुद्ध रोहितसमेत खेल्ने सम्भावना रहेको छ । इटालीयन प्रशिक्षक एन्जेलो एलेसियोको आगमनसँगै पर्सिजाले लिगमा पहिलो खेल खेल्दैछ । अघिल्लो हप्ता मात्रै इन्डोनेसिया पुगेर ८ दिनको क्वारेन्टिन समय विताएपछि रोहित टोलीको अभ्यास सत्रमा सहभागी भएका हुन् ।

पहिलो चरणको अन्तिम दिन पुग्दा बोर्नियो ३ अंकसहित शिर्ष स्थानमा छ । पर्सिजाले पहिलो खेलमा ३–० को जित हासिल गरे शिर्ष स्थान कब्जा गर्नेछ । यता, नेपालले समेत आज नै भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । यसअघि रोहित टोलीसँगै पोखरामा बन्द प्रशिक्षणमा रहँदा इन्डोनेसिया उडेका थिए ।