काठमाडौं, भदौ २२ । कोभिड–१९ को यस महामारीले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेको हो । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्ने बताइएको छ ।
विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्नुपर्ने र सोको पालना भएको/नभएकोबारे स्थानीय तहले नियमित अनुगमन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । केही नगरपालिकाहरूले भने यसअघि विद्यालय खोल्न थालेका छन् । हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक/कर्मचारीले खोप लगाए/नलगाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।
त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने उहाँले बताउनुभयो । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौंका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नेपालले भन्नुभयो, ‘सम्बन्धित स्थानीय तहबाट कोभिड-१९ संक्रमणको अवस्था र विद्यालय सञ्चालनको ढाँचा आएपछि सोही आधारमा विद्यालय खुला गर्ने अनुमति पाउनेछन् । सबैले खोल्नैपर्छ भन्ने अनिवार्यता छैन ।’ सामान्य अवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि डीसीसीएमसीले अनुमति दिनेछ ।













प्रतिक्रिया दिनुहोस्