काठमाडौं, भदौ २४। अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसग भेटवार्ता गरेको छ । नेपालको चारदिने भ्रमणका लागि अमेरिकी टोली आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आएको हो ।
उच्चस्तरीय भ्रमणको लागि काठमाडौको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । संसदमा एमसीसी पारीत गर्न तयारी र सडकमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौ आइपुगेको हो । टोलीले केही समयअघि प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसग भेट्न बालकोट पुगेर राजनीतिक भेटबार्ताको शुरुवात गरेको छ ।
चार दिनसम्मको नेपाल भ्रमणमा टोलीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।नेपालले स्पष्टता खोजेका बुदामा सुमारले हिजो मात्रै १५ पृष्ठ लामो जवाफ पठाउनुभएको थियो । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ गते एमसीसीलाई पत्र लेखेर नेपालमा उत्पन्न चासोबारे प्रश्नहरू पठाउनुभएको थियो ।
चार वर्षअघि सम्झौता भएपनि संसदबाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले काम अघि बढ्न सकेका छैन । सम्झौतामा ३ सय १२ किमी उच्च क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर कोषमार्फत् खर्च गर्ने उल्लेख छ । एमसीसीले हिजो पठाएको पत्रमा सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि उसले गराएको छ । उक्त पत्र हिजो नैं अर्थ मन्त्रालय पुगेको छ । यसैबिच एमसीसीको विरोधमा उत्रिएका ६ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।













प्रतिक्रिया दिनुहोस्