काठमाडौं, भदौ २८ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको बैठक बोलाउनु भएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता दुरुपयोग गर्दै एकलौटी ढंगले गृहजिल्ला डडेल्धुरामा अधिवेशन गराएपछि त्यसबारे छलफल गर्न पौडेलले आफ्नो पक्षका केन्द्रीय सदस्यसहितका नेतालाई बैठकमा डाक्नुभएको हो ।
पौडेलले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाउनु भएको हो । बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महत तथा केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता सहभागी हुनुहुने बताइएको छ । क्रियाशील सदस्यताको विषयमा विवाद हुँदाहुँदै डडेल्धुरामा वडा अधिवेशन भएकाले अब सदस्यताको विवाद बाँकी रहेका जिल्लामा कसरी अघि बढ्ने भन्नेबारेसमेत बैठकले रणनीति तय गर्ने छ ।
भदौ २५ मा डडेल्धुरामा अधिवेशन भएको थियो । त्यही दिन पौडेलले सामाजिक सञ्जालमार्फत डडेल्धुरामा भएको अधिवेशनबारे आपत्ति जनाउनु भएको थियो । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । बाँकी जिल्लामा असोज ५ मा वडा अधिवेशन गर्ने तयारी छ । त्यसपछि ७५३ वटै स्थानीय तहको अधिवेशन असोज ९ मा हुनेछ । कांग्रेसले १४औँ महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्