जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार २२:१९

देउवा जी, तपाईंकी श्रीमतीलाई हराएको रिस हामीमाथि पोखेको हो : नारदमुनि राना


काठमाडौं, भदौ २८ । नेकपा एमालेका नेता एवम सांसद नारदमुनि रानाले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्नी आरजु राणालाई चुनावमा हराएकोमा रिस पोखेको आरोप लगाउनुभएको छ । सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राना थारु समुदायले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै रानाले सो कुरा बताउनुभएको हो ।

‘शेर बहादुर देउवा जी तपाईंकी श्रीमतीलाई चुनावमा हराएको रिस पोखेको हो र ? ’, उहाले विरोध सभाबाटै प्रश्न गर्नुभयो, ‘चुनावी सभालाई सम्बोधन गर्दै धनगढी उर्मामा तपाईंले नै वाचा गर्नुभएको थियो सरकारी कामकाजको भाषा बनाउँछु भनेर। अहिले किन आफ्नै वाचा पूरा गर्नु भएन ?’ विरोध सभालाई सम्बोधन गर्दै रानाले देउवा सरकारको ठाडो निर्देशनमा राना थारु भाषालाई सूचिबाट हटाइएको आरोप लगाउनुभयो । ‘सबै प्रक्रिया पुर्याएर हामीले भाषा आयोगमा कागजात पुर्याएका थियौँ, त्यहाँबाट पनि सरकारी कामकाजी भाषाको मान्यता दिइने आश्वासन आएको थियो’, रानाले भन्नुभयो, ‘हामी उत्साहित थियौँ तर प्रधानमन्त्री शेर बहादुर देउवाको ठाडो आदेशमा हाम्रो भाषालाई छुटाइयो, हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

सुदूरपश्चिम प्रदेशमा डोटयाली, थारु, बैतडीले, अछामी र बझाङ्गी भाषालाई स्थान दिइएपनि राना थारु भाषा भने त्यसमा समेटिएको छैन। नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको राना थारु भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिन आग्रह गरेको थियो। सुदूरपश्चिम प्रदेशमा करिब तीन लाखभन्दा बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको भन्दै उहाँहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोधसमेत जनाउनुभएको छ ।