जनता टाइम्स

८ असार २०७६, आईतवार ०८:१६

सडकको बाहनामा सिंगो पहाडकै दोहोन


काठमाडौं ।

थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।

वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षातमा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर पुर्‍याउने भयले स्थानीय त्रस्त छन् । किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गर्ने ठेक्का पाएको हो । सडक ९ मिटर चौडा गरिँदै छ । शनिबार त्यहाँ डोजर र स्काभेटर प्रयोग गरी बढी नै ढुंगा निकालिएको देखियो । ‘स्तरोन्नति गर्ने बहानामा ठेकेदारले दोहोरो फाइदा लिएका छन्,’ एक स्थानीयले भने, ‘बाटो खन्ने क्रममा निक्लिएका ढुंगा उनीहरूलाई फाइदा हो ।’

सडकको बीचबीचमा ढुंगा थुपारिएको देखिन्छ । ती ढुंगा बिक्री प्रयोजनका लागि राखिएको पुष्टि हुन्छ । उक्त क्षेत्रसमेत पर्ने काठमाडौं १० (ख) की सांसद तथा प्रदेश ३ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले स्थानीयले उक्त क्षेत्रमा उत्खनन गरी निकालिएको ढुंगा त्यहीँ पर्खाल बनाउन र तारजाली भर्ने काममा प्रयोग हुनुपर्ने भनी विगतदेखि नै आवाज उठाए पनि त्यसो नगरिएको बताइन् । ‘ठेकेदारले त्यहाँ निकालेको ढुंगो त्यहीँ नै प्रयोग गरेको देखिन्न,’ उनले भनिन्, ‘ढुंगा अन्यत्रै प्रयोग भइरहेको गुनासो छ ।’ यो सडक २०७४ देखि स्तरोन्नति सुरु भए पनि अहिलेसम्म पूराभएको छैन ।

५ करोड रुपैयाँको सडकमा अहिले काम रोकिएको छ । किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीका सञ्चालक सनतसिंह राई भने ६० मिटरमाथिबाट सडक खन्नुपरेकाले त्यसको असर तल्लो क्षेत्रमा पर्न गएको तर नियतवश अनावश्यक खनजोत नगरेको दाबी गर्छन् । ‘मेसिन नै ठूलो हुने भएकाले माथिबाट खन्दै जाँदा ढुंगामाटो बढी निस्किएको हो,’ उनले भने, हामीले रेखांकन गरेकै ठाउँबाट बाटो विस्तार गरेका हौं ।’ कहीँ कडा चट्टान र कहीं नरम ढुंगा भेटिएकाले खन्ने क्रममा धेरै ढुंगामाटो निस्किएको राईको दाबी छ ।

सडक विस्तारका लागि कम्पनीले ३ वटा डोजर–स्काभेटर प्रयोग गरेको छ । यो सडक आयोजना स्थानीय, प्रदेश वा केन्द्र कसले हेर्ने भन्ने विवादपछि निर्माण रोकिएको राईले बताए । स्थलगत निरीक्षणका क्रममा भने खनजोत भइरहेको देखिन्छ । सडकछेउछाउ ढुंगा संकलन गरेर थुप्रो बनाइएको छ । राईले भने बिक्रीका लागि नभई त्यहींँ प्रयोग गर्ने हिसाबले ढुंगा संकलन गरिएको दाबी गरे । सांसद मगरका अनुसार स्थानीय बासिन्दाले विगतदेखि नै वन विनाश र अनधिकृत दोहनप्रति आवाज उठाउँदै आएका छन् ।