जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १०:१३

काठमाडौंबाट सुर्खेत आएको बुद्ध एअरको जहाज अवतरण हुन नसकेपछि नेपालगञ्ज गयो


सुर्खेत, असोज २० । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ।बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४– १३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।
सवा ९ मा पुगेको जहाज मौसम सामान्य नहुँदा अवतरण नभएको हो। भेरी नदी माथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो। ‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको हो, अवतरण गराउने प्रयास गरे पनि हुन सकेन,’ बस्नेतले भन्नुभयो, ‘नेपालगञ्जमा जहाज अवतरण भइसकेको छ, केही समय पछि सुर्खेत आउँछ।जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको जानकारी दिनुभयो ।