जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १५:५४

२ दिन मै १० लाख बढीले भरे सामलिङ्गको आईपिओ


काठमाडौं, कात्तिक ६ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १९ गुणा बढीको आवेदन परेको छ । शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १० लाख ६३ हजार २ सय १६ जना आवेदकबाट १ करोड २९ लाख ५९ हजार ४० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्कासनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं.८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो ।