जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार ०८:११

एनआरएनएद्वारा कञ्चनपुरका बाढी पीडितलाई राहत वितरण


कञ्चनपुर, कात्तिक ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कञ्चनपुरका बाढी पीडितलाई राहत वितरण गरेको छ । गैरआवासीय नेपाली सघंले सुदूरपश्चिमको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका पीडितलाई राहत प्रदान गरेको हो ।

विगत केही दिनअघिको भारी वर्षाका कारण महाकाली नदीको बाढीको प्रभावले विस्थापित परिवारलाई एक घर, एक परिवार अभियानअन्तर्गत तीन सय घरलाई सो राहत दिएको संघले जनाएको छ । यसअघि संघका अध्यक्ष कुमार पन्तले विश्वभर छरिएका राष्ट्रिय समितिलाई राहतमा जुट्न आग्रह गर्नुभएको थियो ।

राहत वितरणको लागि एनआरएनए मध्यपूर्व उपसंयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) मानार्थ सदस्य तथा राहत सामग्री हस्तान्तरण समितिका उपसंयोजक धर्मराज गिरि, एनआरएनए क्यानडा प्रतिनिधि तुला भट्टचन, एनआरएनए दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, एनआरएनए दक्षिण कोरिया अभियन्ता नवीनराज जोशी, सन्जु श्रेष्ठ, प्रदीप खनाललगायत कञ्चनपुर पुग्नुभएको थियो ।

राहत स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अभियन्ता, प्रशासन, पत्रकार तथा स्थानीय बासिन्दाको रोहवरमा सोमबार वितरण गरिएको छ ।