जनता टाइम्स

६ मंसिर २०७८, सोमबार ०८:५०

चितुवाको छालासहित चारजना पक्राउ


काठमाडौँ, मंसिर ६ । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो ।” आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एक/एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक/एक थान रेड/रियल्मी मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ ।