जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १५:१२

प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाटको हाइड्रो, सर्वसाधारणलाई शेयर


काठमाडौं, ११ मंसिर । प्रवासीको म्याग्देलीको अगुवाइमा म्यादीको मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।

‘विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।’ गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताउनुभयो ।

विसं २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गरेको सो आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस) को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो । आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।

‘गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ’, उहाँले भन्नुभयो,’बाँध र विद्युत्गृह निर्माणको तयारीमा छौँ ।’ मालिका गाउँपालिका–७ बिम र धौलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ ।

दुखुबेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।आयोजना नजिकै बिमको डाँडाखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका गरी रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता पनि भएको छ ।

आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताउनुभएको छ । कूल रु पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ । असर पर्ने क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकबीचको विवादका कारण २०७१ फागुनमा आयोजनाको काम सुरु हुन सकेको थिएन । आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।