संविधानले दिएका अधिकार उपभोग गरेर राष्ट्रपति, उपराष्ट्रपति लगायत संघ, प्रदेश र स्थानीय निकायमा मन्त्री, माननीय, गाउँ र नगरका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य भएका महिलाहरु आफुले आएको अवसरमा आफैँ मख्क परेर बस्ने कि ? आम महिलाहरुको चौतर्फी उत्थानमा सक्रिय भएर लाग्ने भन्ने कुरा आजको महत्वपूर्ण सवाल हो । राजकीय अवसर पाउने महिलाहरु महिला उत्थानमा सक्रिय भएर कति लागेका छौँ भन्ने कुरा महत्वपूर्ण रहेको छ
मिथिला पोखरेल
संविधान नेपालको मूल कानुन । यसमा महिलाका संवैधानिक हक, अधिकारहरु ग्यारेन्टी गरेको छ । संविधानको प्रस्तावनामा नै अरु खालका तमाम विभेद जस्तै लैङ्गिक विभेद गर्न नपाइने उल्लेख गरिएको छ । संविधानको भाग २ धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचान सितको नागरिकता शीर्षकमा आमा वा बाबुको नामबाट नेपालको नागरिकताको प्रमाण पत्र पाउने किटानी व्यवस्था छ । संविधानमा समानताको हकका सन्दर्भमा पनि अरुलाई जस्तै महिलालाई पनि पुरुष सरह समान हकको संविधानले ग्यारेन्टी गरेको छ । संविधानको धारा ३८ को उपधारा १, २, ३, ४, ५, ६ मा महिलालाई लैङ्गिक भेदभाव विना समान वंसीय अधिकार हुने किटानी व्यवस्था छ । त्यसमा सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र राज्यका सबै निकाय समानुपातिक समावेसी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा सम्बन्धी हक पुरुष सरह हुने व्यवस्था संविधानमा गरिएको छ ।
संविधानमा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हकको व्यवस्था गरिएको छ । महिलालाई कुनै पनि खालको हिंसा कार्य वा शोषणलाई कानुनअनुसार दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हक पनि किटान गरिएको छ । संविधानमा पालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना अनिवार्य महिला हुने ब्यवस्था छ । त्यसै गरी वडा सदस्यमा महिला अधिकार सुनिश्चित गरिएको छ । राष्ट्रिय महिला आयोग गठन गर्ने प्रावधान राखिएको छ । यसरी महिला अधिकारका सवालमा महत्वपूर्ण अधिकारहरुको संविधानमा किटानी व्यवस्था गरिएको हुँदा यी प्राप्त अधिकारहरुलाई सकारात्मक रुपमा उपयोग गर्नुपर्छ । यसमा महिलाहरुले आफ्नो क्षमता सिद्ध गर्नुपर्छ, अनि मात्र अन्य अधिकारहरुमाथि दावा गर्न सकिन्छ ।
यसैगरी दलित महिलालाई पुरुष सरह समान हकको ग्यारेण्टी गरिएको छ । सामाजिक न्यायको हकमा पनि महिलाको समान अधिकार संविधानले सुरक्षित गरेको छ । संविधानको भाग ६ को ७० धारामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको हुने ग्यारेण्टी गरेको छ । यही धारा अनुसार विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुनुभयो । संविधानको भाग ८, ९१ धारामा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने पनि संविधानमा किटानी गरिएको । यसैअनुसार सभामुख र उपसभामुख महिलाहरु हुनुभयो । तत्कालीन नेकपा एमाले पार्टीले यस खालको संवैधानिक व्यवस्था नहुँदा पनि लीला श्रेष्ठ सुब्बालाई पहिलो उपसभामुख बनाएको थियो । त्यसैले महिला हकका सबालमा एमाले पार्टीलाई अगुवा भन्न सकिन्छ ।
संविधानमा अहिले जे जति महिलाका अधिकारहरू सुनिश्चित गरिएका छन्, ती सबै महिला आन्दोलनकै प्रतिफल हुन । र यसमा नेकपा एमाले पार्टीको प्रत्यक्ष वा परोक्ष उत्प्रेरक भूमिकाको विशेष महत्व छ । तर संविधानमा महिला हक, हित र अधिकारका बारेमा ग्यारेन्टी गर्दैमा महिला क्षेत्र सबल र सक्षम हुन्छ भन्न सकिन्न । सामान्य बौद्धिक स्तरको मानिसलाई महत्वपूर्ण ज्ञान ग्रन्थ दिएर के हुन्छ र ? त्यसैले अनेमसंघलगायत महिला सरोकारका संघ संस्थाहरु र त्यसको नेतृत्वले पदीय हैसियत अनुसार आफै पनि बौद्धिक क्षमता विकास गर्न ध्यान दिनुपर्छ । आधारभूत र मूलभूत विषयको आवश्यक ज्ञान, सूचना र शिक्षामा आवश्यक पहुँच, पठन, लेखन र प्रकाशनबिना समाजमा बौद्धिक पहिचान बनाउन सकिँदैन । अहिले नै कति नेतृ होलान विभिन्न विषय पत्र, कार्यपत्र, लेख र रचना लेख्ने र विषयगत टिप्पणी गर्ने कति होलान ?
पुरुष सरहको अधिकार खोजेपछि उनीहरू सरह क्षमता आर्जन गर्नैपर्छ, अघि बढ्नै पर्छ र पछि परेर हुँदैन । अलि पढेलेखेका महिलाहरु पनि संघमा प्रवेश गराउनु पर्छ । उनीहरु आए भने मेरो भाग खोसिन्छ कि भन्ने महिलाले देश र जनताको भाग नै खोस्न सक्छन किनभने आफूले राम्रो नगरे अरु राम्रो गर्नेलाई मौका दिए देशको भलो हुन्छ भन्ने चेत चाहिन्छ । प्रायः महिलाहरु लेख्न आउदैन भन्ने गर्छन तर मेरो अनुभवमा लेख्न सकिन्छ र लेखिन्छ पनि । यसको उदाहरण मसित नै सम्बन्धित छ । मलाई डा. बद्रीबिशाल पोखरेलले सुरुसुरुमा लेख्न प्रोत्साहित गर्नुहुन्थ्यो । पार्टी र अनेमसंघका तीता मीठा अनुभवहरु लेख्न भन्नुहुन्थ्यो । अनि म लेख्न आउँदैन भन्थेँ । त्यस बेला उहाँ जे जे मनमा आउँछ लेख्नु भन्नुभयो । नभन्दै मनमा आए जतिका सबै मैले कपीमा लख्तै गएँ । कपीको दुई पाना भरियो । अनि डा. पोखरेलले हेरेर ल्यापटपबाट करेक्सन गरिदिनु भयो । मैले लेखेकै लेखलाई उहाँले तलमाथि गरेर मिलाइ दिँदा राम्रै लेख तयार भयो । कहिले काँही बुँदाहरु लेख्यो, अनि तिनै बुँदाहरुलाई विस्तार गरे पछि लेख तयार हुँदो रहेछ ।
लेख र रचना लेख्न सिके यसमा ध्यान र मन दिए लेख लेखिन्छ । जे जानेको छ लेख्तै जाने अनि सच्याउन कसैलाई दिने त्यसलाई तलमाथि पारेर मिलाउँदा लेख हुँदो रहेछ । यो मेरो घरकै अनुभव हो । बोल्न वा भाषण गर्न घरमै सिके हुन्छ, गरे हुन्छ । राजनीति र राजकीय विभिन्न तहमा रहेर काम गर्दा महिलाले नेतृत्व गरेका कामहरुमा कम आलोचना हुनुपर्यो अर्थात राम्रो हुनुपर्यो । तर केही ठाउँमा उपप्रमुखका गतिविधि अत्यन्त नकारात्मक छन् । त्यसले गर्दा महिलाको मात्र होइन, पार्टीकै साख समाप्त हुनसक्ने देखिन्छ । फेरि पनि यस्तै हुने हो कि भन्ने केही उपल्ला तहका नेताको बेहोरा हेर्दा लागेको छ । माक्र्सवादसित महिलावादको तुलना गर्ने पनि हामी महिला रहेछौँ । यस्ता विषयमा हाम्रा घरमा नै चर्चा हुन्छ । महिला र महिलावादमा नै फरक होला, अनि यसरी भोलिका दिनमा ब्राम्हणवाद, मधेसवाद आदि आदिसित माक्र्सवादलाई दाँज्दै जाने हो भने के होला । त्यसैले महिला सशक्तीकरण भनेको छ तर यस क्षेत्रको समग्र विकासमा हाम्रो ध्यान अझै गएको छैन ।
महिला राष्ट्रपति भनेर तथानाम गरियो तर त्यसका विरुद्ध हाम्रा आवाज र अन्तर्वार्ता कुनै मिडियामा आएनन । देशमा पार्टीमा र सरकारका राम्रा कामहरु देखीनसहने कुराहरु भइरहे । हामी मध्ये कुन महिलाले कहाँ बोल्यौँ ? लेख्यौँ ? माओले भनेझैँ झारपात हामीले कहिल्यै उखेल्यौँ ? आफू एक्लै बढने र भए भरका अवसर आफै मात्र हत्याउने प्रतिस्पर्धा सामन्तवादी र पुँजिवादी प्रतिस्पर्धा रे अनि आफ्नो वर्ग तह र तप्का सबैलाई सक्षम, कुशल र योग्य बनाउन तत्पर हुने चाहिँ समाजवादी प्रतिस्पर्धा रे । यो कम्युनिस्टको र अझ प्रतिस्पर्धा हामी एमालेको प्रतिस्पर्धा हुनुपर्ने हो । त्यस विपरीत हिँडेपछि केही मानिस धनीमानी होलान तर देश र जनताको उत्थान कहिल्यै हुँदैन । सम्पादकीय र प्रकाशकीय केहो थाहा नहुने र बहुराष्ट्रको परिभाषा पनि थाहा नहुने नेतृत्वलाई कसरी सशक्त र सबल भन्ने ? अनि यसैलाई महिला सशक्तीकरण भन्न सकिएला र ?
अहिलेको संविधानमा महिला आन्दोलनकै बलमा महिलाका अधिकारहरु सुनिश्चित गरिएका छन् । २००४ सालदेखि नेपाल महिला संघ, अखिल नेपाल महिला संघका झण्डामुनि गोलबद्ध भएर गरेका आन्दोलनहरुको प्रतिफल हो । त्यसैले आफ्नो पहल प्रयत्नबाट प्राप्त भएका संवैधानिक हक अधिकारहरुलाई संरक्षण सम्वद्र्धन गर्नुपर्छ । त्यसमा महिलाहरुले गौरव बोध गर्नुपर्छ । विभिन्न विषयमा लेख रचना लेखेर प्रकाशिन गर्ने कार्यपत्रसहित छलफल, बहस विचार गोष्ठी गर्ने जस्ता कामहरु गरेर बौद्धिक विकास गर्नुपर्छ ।
संविधानले दिएका अधिकार उपभोग गरेर राष्ट्रपति, उपराष्ट्रपति लगायत संघ, प्रदेश र स्थानीय निकायमा मन्त्री, माननीय, गाउँ र नगरका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य भएका महिलाहरु आफुले आएको अवसरमा आफैँ मख्क परेर बस्ने कि ? आम महिलाहरुको चौतर्फी उत्थानमा सक्रिय भएर लाग्ने भन्ने कुरा आजको महत्वपूर्ण सवाल हो । राजकीय अवसर पाउने महिलाहरु महिला उत्थानमा सक्रिय भएर कति लागेका छौँ भन्ने कुरा महत्वपूर्ण रहेको छ । जननेता मदन भण्डारी र जबजका अनुसार राम्रो काम राम्रै तरिकाले गर्नुपर्छ भनेझैँ नगर प्रमुख र उपप्रमुख हुँदा हाम्रो काम गर्ने तरिकामा पनि भर पर्छ । महिला, दलित, कवि, लेखकलगायत समाजका बहुआयामिक क्षेत्रमा काम गर्दा त्यस क्षेत्रको राय, परामर्श, सुझाव सल्लाह र सहभागितामा काम गर्दा परादर्शिता हुन्छ र त्यसबाट गुनासा आए पनि अत्यन्त कम गुनासा आउँछन ।
अझ सरोकारवालाहरुकै सहभागिता र सक्रियतामा नगरपालिकाले समन्वय सहयोग र सुझाव तथा अनुगमन गर्दा अझ काम प्रभावकारी र परिणामुखी हुन्छ । यसरी काम गर्ने कुरामा हाम्रो र पार्टीको ध्यान कति पुगेको छ ? बल्ल बल्ल पाएको मौका र अवसरलाई भरपूर सदुपयोग गर्ने र भावी निर्वाचनलाई अझ प्रभावकारी बनाउने ध्ययले हामीले कति काम गरेका छौँ ? यो गम्भीर प्रश्न हो । होइन भोलि जेसुकै होस भनेर लापर्वाह तरिकाले काम गरिरहेका छौँ र त्यसलाई पार्टीले पनि राम्ररी ख्याल नगर्ने हो भने पार्टीको भविष्यमा असहज परिस्थिति निर्माण गर्ने निश्चित देखिन्छ । त्यसैले पार्टीको निकायले सबै जनप्रतिनिधिको मूल्याङ्कन गर्नुपर्छ र बेलैमा आवश्यक सुझाव पनि दिनुपर्छ र पूरै अवधिको मूल्याङ्कन नगरी र राम्रो काम नगरी भर्याङ चढाउनु हुँदैन । कुराले मात्र होइन, अब महिलाले कामले नै आफ्नो सीप, क्षमता र कौशल देखाउनु पर्छ । महिलाहरु पुरुष भन्दा कम छैनौँ भन्ने प्रमाणित गर्नुपर्छ ।
जतिसुकै यति उति प्रतिशत महिलालाई चाहियो भने पनि संविधानतः प्राप्त अधिकारलाई व्यवहारमा लागू गर्न हामी महिलाहरुले सकेका छैनौँ । अहिले हामी महिलाको बौद्धिक स्तर कहाँ छ ? हामी विषय पत्र, कार्यपत्र, लेख र रचनाहरु लेख्ने क्रममा हामी कहाँ छौँ ? राष्ट्रपतिका बारेमा विभिन्न कोणबाट अनावश्यक खराव खालको टीका टिप्पणी भइरहेको अवस्थामा अनेमसंघले विरोध वक्तव्य मात्र लेखेर र प्रकाशन गरेर हुन्छ ? यतिका मिडिया नेपालमा छन् । त्यसैगरी यति धेरै पत्रिकाहरु प्रकाशित हुन्छन, अनलाइन पत्रिका पनि छन । समाजिक सन्जालहरु मनग्गे छन तर तिनमा हाम्रा लेख, रचना, टिप्पणी हामी गरिरहेका छैनौँ ।
अनि कसरी हाम्रो बौद्धिक स्तर बृद्धि हुन्छ । यतिका टेलिभिजन छन तर महिला र त्यसमा पनि अनेम संघका महिला नेतृहरुका समसामयिक वार्ता र अन्तर्वार्ता खासै सुनिँदैनन । बरु धामी झाँक्री जस्ताका कुरा कुथुङ्ग्रीहरु सुनिन्छ । पत्रिका र मिडिया मैत्री पनि हुनुपर्दो रहेछ । हामी पत्रकार र तिनले प्रकाशित गरेका र प्रशारित गरेका सामग्री हामी महिलाहरु प्रायः हेर्दैनौँ । अनि ती समग्रीका बारेमा पत्रकारलाई सुझाव र सल्लाह पनि दिँदैनौ । हामी महिला पत्रिका र पत्रकारदेखि टाडा हुन्छौँ अनि कसरी हाम्रा राम्रा कुरा प्रशारित हुन्छन् ? महिलाले पढ्दैनन जोसुकैले गरेका राम्रा कामलाई प्रोत्साहित गर्दैनौँ । मैले चेलीको चिरहरण किताव प्रकाशित गरेँ तर महिलाले लेखेका कृतिका बारेमा र लेखकलाई प्रोत्साहित गर्ने काम महिलाले नै गर्दा रहेनछन जस्तो लागेको छ ।
एउटा पत्रिका र कितावको सम्पादकीय र प्रकाशकीयका बारेमा तीन महिना अलमलिने हामी र बहुराष्ट्रको परिभाषा दिन नजान्ने हामी महिलाहरु कसरी सशक्त र बौद्धिक हुन्छौँ ? त्यसैले हामीले आफैँलाई हेर्न र नियाल्न जरुरी देखिन्छ । पार्टी र अनेमसंघका सामान्य र नियमित काम गर्नुपर्छ तर त्यतिले मात्र हाम्रो औकात बढ्दैन । सबै मिडिया र अखबार पढ्नु पर्छ तर कुनमा सही सत्य तथ्य समाचार छापिन्छ र प्रशारण त्यति पनि हामी धेरैलाई थाहा छैन जस्तो लाग्छ । भात भान्सा गर्दा गर्दै पनि प्रविधिको दुनियाँमा हामी आफैँ पछि परिरहेका छौँ । महिला जनप्रतिनिधिहरुका काम के कस्ता छन ? तिनको समाजमा के कस्तो प्रतिक्रिया छ । केही नगर पालिकाका प्रमुख र उपप्रमुखले राम्रै काम गरेका छन तर केहीले भने दुर्नाम कमाएको पाइन्छ ।
यस प्रदेशका नगरपालिकाले ५० लाख देखि ३० लाखसम्म भाषा कला, साहित्य र संस्कृतिका क्षेत्रमा लगानी गरेर यस क्षेत्रलाई प्रोत्साहित गरेका छन । उक्त पालिकामा धरान, इनरुवा, सुन्दर हरैँचा र कोशी हरैँचा नगर पालिका पर्छन । यी पालिकाले स्रष्टा प्रतिष्ठान नै स्थापना गरी यस क्षेत्रको उत्थान र विकासमा सहयोग गरेको पाइन्छ । उक्त नगरपालिकाका उपप्रमुखहरु क्रमशः मन्जू भण्डारी, जमुना पोखरेल, धना तामाङ र तारा पराजुलीहरु आआफ्ना नगरमा रचनात्मक कामका साथ सक्रिय रहेको देखिन्छ तर केही नगरपलिकामका जनप्रतिनिधि र सभासद्का कारण दिनप्रतिदिन पार्टी अलोकप्रिय बन्दै गएको छ । यति मात्र होइन, प्रदेश नं. १ को ०७८ सालको स्रष्टा पुरस्कार छनौट समितिमा संयोजक रहेका एमाले कार्यकर्ताले एक एमाले भुईकविलाई ५० हजारको प्रदेश पुरस्कारमा छनौट गरेर बदनामी व्यहोर्नु परेको छ । तर अपाङ्गता भएका झमक घिमिरे भन्दा विशिष्ट इटहरी निवासी प्रगतिशील कवि वियोग सापकोटालाई कुनै पनि तहका सरकारले बेवास्ता गरेकामा स्रष्टाहरु दुःखित छन । तसर्थ यस्ता विकृतिलाई पर्गेली बेलैमा यथोचित उपचार गर्नुपर्छ । हाम्रा जनप्रतिनिधिले हर क्षेत्रलाई खुल्ला र पारदर्शी रुपमा सहयोग गर्नुपर्छ ।
(लेखक नेकपा (एमाले) प्रदेश नं. १ सल्लाहकार, अनेमसंघ, केस तथा चेलीको चिरहरण कृतिकी सर्जक हुनुहुन्छ)













प्रतिक्रिया दिनुहोस्