एकातिर स्वास्थानी ब्रत कथामा नारीहरु आदिशक्ति, महाशक्त्ति र परब्रह्म शक्तिका रुपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निन्छरो र दासीका रुपमा उल्लेख गरिएको देखिन्छ । यस्तो खालको सोच र ब्यवहार पितृ सत्तात्मक समाजबाट सुरु हुदैँ विकाशित भएको हुनुपर्छ । स्वास्थानी भनेर एकातिर मातृ शक्तिको पुजा गर्नू अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, ब्यथा र वेदना हो । यस्ता व्रत कथा र पुराणहरु अब संशोधन गर्नुपर्छ । संशोधित कृति लेखन र प्रकाशन गर्नुपर्छ । अनेमसंघले यस्ता कुराको अगुवाइ गर्नुपर्छ ।
मिथिला पोखरेल
सदाझैँ यस वर्षको माघ १५ गतेदेखि स्वस्थानी ब्रत कथा प्रारम्भ हुँदैछ । बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनु पर्ने हो तर आफूलाई अग्रगामी भन्ने महिला पक्षीय संस्था र नेतृहरुले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न । बरु परम्परावादी महिला नेतृ र संस्थाहरु सदाझैँ सक्रिय देखिन्छन । मिडियामा तिनकै विचार बारबार सुनिन्छ, अग्रगामी सोचहरु हात बाँधेर बसेको स्थिति छ । विचारलाई विचारले नै परास्त गर्नुपर्छ । अझ अनेमसंघले यस्ता विषयहरुका बारेमा सघन बौद्धिक विचार विमर्श गर्न जरुरी देखिन्छ ।
स्वस्थानीका सकारात्मक पक्ष र नकारात्मक पक्षका बारेमा आफैँ स्पष्ट हुन जरुरी हुन्छ । पुर्खाहरुले सुरु गरेका परम्पराहरुलाई समय अनुकूल बनाउनु पर्छ । तर्क र तथ्यसहित विरोध गर्ने हो र विकल्पसहित विरोध गर्ने हो । मैले बुझेसम्म इटहरी वार्ड नं.२ निवासी कम्युनिष्ट पार्टीका पुराना नेता स्व. ओम कोइरालाका बुबा स्व.देवनारायणका घरमा कठोर भूमिगत कालमा जननेता मदन भण्डारी आउँदा स्वस्थानी ब्रत कथाको अवसर परेछ । यस अवसरमा आफ्नो छोराको साथी भनेर चिनिएका भण्डारीको सुरिलो स्वरबाट प्रभावित आमाहरुले भण्डारीबाट स्वस्थानी ब्रत कथा सुन्न आग्रह गरेछन । मदनले पनि ब्रत कथा पढेर सुनाउँदै बीच बीचमा विश्राम लिएर कथामा रहेका कतिपय चरम रुढीग्रस्त विचार चाहिँ तपाई हामीले मान्नु उपयुक्त हुँदैन भनेर चित्त बुझ्ने बताएको रुक्मणी कोइराला बताउनु हुन्छ ।
आँ गर्दा अलङ्कार बुझिन्छ भनेझैँ मदन भण्डारीको उपयुक्त कुराबाट स्वस्थानी ब्रत कथा वा अन्य कुनै पनि परम्परागत पूजा आजा पुराण आदिका सकार स्वीकार गर्ने र नकार चाहिँ अस्वीकार गर्ने भन्ने बुझिन्छ । तर त्यही घरमा केही समय अघि स्व. पिता माताका स्मृतिका आयोजित सप्ताह पुराणमा आचार्य पण्डित कुमार निरौला, कमल खतिवडाले पुराण वाचनका क्रममा उखूमा रस भगवानले हालिदिएका भन्ने जस्ता चरम अन्धविश्वासी व्याख्यान गरेको हामीले सुन्यौं । परिवार नै अग्रगामी, प्रगतिशील वा कम्युनिस्ट भए पनि हाम्रा घरघरमा अनेक खालका अन्धविश्वासी क्रियाकर्म अहिले पनि हुने गरेको यो एउटा उदाहरण हो ।
अहिले नै पनि कतिपय नेता र नेतृका घरमा पुर्पुरोवाद भट्याउने पूजाकोठा देखिन्छ । घरमा ध्यान कक्ष वा कोठा राख्नु सही होला तर आफूलाई कम्युनिस्ट वा एमाले नेता रुढीवाद र माक्र्सवादमा फरक नदेखेपछि के हुन्छ ? त्यसैले यस खालका रुढीवादी गतिविधिका बारेमा घरघरमा नै चर्चा परिचर्चा गर्नुपर्छ र यस्ता विषयमा अनेमसंघले जिल्ला जिल्लामा सभा, समारोह र कार्यक्रम चलाउनु पर्छ । अझ सामूहिक रुपमा अलि परिष्कृत आलोचनात्मक खालको स्वस्थानी ब्रत र कथा वाचन अभियान सुरु गर्नुपर्छ । हामीले हाम्री सासू आमा हरिमाया पोखरेलको क्रियाकर्म गर्दा आलोचनात्मक गरुडपुराण आयोजना गरेका थियौँ । गरुड पुराण वाचन गर्दा बीचमा सती प्रथाको प्रसंग आयो अनि हामीले पण्डितलाई वाचन गर्न रोकेर यस विषयमा महिलाहरुका बीच छलफल चलायौँ । डा. बद्रबिशाल पोखरेलले पुराण सुन्न भेला भएका महिला समूहलाई लक्षित गर्दै प्रश्न गर्नुभयो, लु अब कोको माताहरु सती जान तयार हुनुहुन्छ भन्ने बित्तिकै हल्लीखल्ली सुरु भयो । त्यहाँ उपस्थित कोही पनि महिला सती जान तयार भएनन । पुरुष पनि महिला मरेपछि सती वा सतो जान्छन भने मात्र हामी जान्छौँ नत्र हामी मात्र सती जाँदैनौ भनेर ठट्यौली पारामा उत्तर दिए । तर डा. पोखरेलले हामी पुरुष चाहिँ किमार्थ सती जान्नौ, भनेपछि सबै चुपचाप भएका थिए ।
यसरी नै स्वस्थानी ब्रतकथामा उल्लिखित महिला विरोधी विषयमा कार्यशाला वा छलफल चलाउने हो भने कोही मान्नेवाल छैनन । अनि यस्तै नहुने कथा र कुरा कसैले पनि स्वीकार नगर्ने स्थिति हुन्छ । यस खालका चरम रुढीवादी कथा, ब्रत, पूजाआजाका बारेमा सरोकारवालाकै रायअनुसार स्वस्थानी ब्रत कथा कम्तीमा ब्रतकथालाई आलोचनात्मक रुपमा वाचन गर्ने परिपाटी सुरु हुन्छ । यसरी क्रमशः यस्ता ब्रतकथामा परिमार्जन गर्न सकिन्छ तर यस्तो सोच नेतृमा आउनु पर्यो, आफू नजान्ने, भनेको नमान्ने भएपछि केही हुँदैन । पदको नेता, माननीय र मन्त्री नै पनि भएर पो के हुन्छ र ? कामले नै काम जानिन्छ । भुइँ तहदेखि नै काम जानेका महिलाको कुरै बेग्लै हुन्छ । अहिले त सही सल्लाह दिने र लिने पनि छैनन, सही सल्लाह सुन्नेवाला पनि छैनन् ।
अन्धविश्वास र असमानताका विरुद्ध वर्षमा एकाध भाषण, मन्तव्य र कार्यक्रम गरेर के हुन्छ ? बिहानदेखि बेलुका अबेरसम्म घरघरमा र हरेक मिडियामा भाग्यवादकै फलाको सुनिन्छ । यसमा आलोचनात्मक विचार राख्ने महिला नेतृ खासै देखिएका छैनन । लामो समयदेखि दिमागमा बाक्सी परेर जमेको मयल कहिले काहिँ सुमसुम्याएर सफा हुँदैन । त्यसैले कुनै न कुनै खाले अन्धविश्वास बोकेर हिड्ने महिला नेतृ छँदै छैनन् भन्न सकिँदैन । किनभने सदियौँदेखि चरम रुढीग्रस्त स्वस्थानी ब्रत कथा सुनेर त्यसअनुसार आफ्नो चिन्तन र चरित्र निर्माण गरेका महिला जगत रातारात सच्चिने कुरा हुँदैन । तर स्वस्थानी ब्रत कथा भने लामो समयको परिष्कारपछि चरम रुढीग्रस्त हुँदै आएको स्पष्ट हुन्छ ।
विद्वान् महेशराज पन्तले एक पत्रिकामा स्वस्थानी ब्रत कथा विषयमा लेखेको एउटा लेख मैले पढेकी थिएँ । त्यस लेखमा स्वस्थानी नेपाल संवत ६९३ मा पहिलो पटक स्वस्थानी ब्रत कथा देखापरेको बताइएको छ । अनि नेपाल सम्वत ७२३ मा स्वस्थानी ठूलो आकारमा प्रकाशित भयो । अहिले त नेपाली, मैथिली, भोजपुरी र हिन्दीमा समेत यो कथा प्रकाशित छ भनिन्छ । स्वस्थानको पूजा गर्ने परम्परासँगै स्वस्थानी देवीका रुपमा पूजा गर्न थालेको पाइन्छ । मातृसत्तात्मक समाजमा माताको पूजा गर्ने चलनसँगै यसमा पितृसत्तात्मक सोच प्रवेश गरेपछि यस ब्रतकथामा महिलाप्रति चरम उपेक्षा र अपमान तथा हेलाहोचो जस्ता विषयहरुले राम्रै प्रवेश पाएको स्पष्ट हुन्छ । निम्न लिखित श्लोकले स्वस्थानीको पुरानो स्वरुप बुझउँछ :
स्वस्थानी परमेश्वर्या विधिवत् ब्रतमाचरेत
तेन स्वस्थान लाभन्ते भविष्यन्ती नसंशय
अर्थात् स्वस्थानी परमेश्वरीको विधिपूर्वक ब्रत गर, त्यसबाट स्वस्थानको लाभ हुन्छ । आफू जन्मेको ठाउँलाई परमेश्वरी मानेर पुजा गर्दा गर्दै यसमा अनेक विकृति भित्रिएको हुनसक्छ । अहिले पनि कति कविले कविता लेख्दा महिलालाई आफ्नो मति अनुसार लेख्छन । कसैले महिला समानताको कुरा लेख्छन भने कतिले महिलालाई अपमान गरेर पनि लेख्छन । अझ सामन्ती समाजको राज्य सरकार र सत्ताले महिलालाई चरम अपमान गरेर लेख्ने, बोल्ने र व्यवहार गर्ने गरेपछि त्यसैको सिको गरेर स्वस्थानी ब्रत कथा विकसित भएको भन्ने आधार स्पष्टै छ । यस्ता कुरामा अनेम संघ बेखवर भएर हुन्छ ?
अनेमसंघको विधानको उदेश्यको घ नं.मा सामन्तवादी पुँजिवादी नवउदारवादी अवशेषका रुपमा विद्यमान पितृसत्तात्मक सोच, विचार, कुरीति र कुपरम्पराका विरुद्ध निरन्तर संघर्ष गर्ने उल्लेख गरिएको छ । तर संघर्षका नाममा जिन्दावाद र मुर्दावाद मात्र गरेर अब हुँदैन । विरोध मात्र गरेर तर्क संगत रुपमा उचित विकल्पसमेत संघ र यसको उपल्लो नेतृत्वले दिन सक्नुपर्छ । यसका लागि महिला नेतृहरु अध्ययनशील, बौद्धिक, वैचारिक तथा लेखन कर्ममा लाग्नु जरुरी हुन्छ । यो कुरा विधानको उदेश्यमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ । विधानमा समसामयिक सवालमा गोष्ठी, सेमिनार, विचार विमर्श गर्ने जस्ता कामहरु गर्ने कुरा कतै उल्लेख छैन ।

विधानले नबोलेपछि काम नगर्नेलाई सजिलो हुने नै भयो । पढ्ने, लेख्ने, बौद्धिक क्षमता आर्जन गर्ने कुरा विधानमा नै नभएपछि गर्नु पनि भएन । विधानमा महिलाहरुका विभिन्न खाले सिर्जनात्मक रचनात्मक प्रतिभा उजार गर्ने र तिनलाई समृद्ध पार्ने कुनै दिशा निर्देश गरेको देखिन्न । सदस्यता वितरण, नवीकरण, समिति गठन, पुनरगठन, सम्मेलन मात्र गर्ने अनि विभिन्न विषयमा विरोध वक्तव्य मात्र जारी गर्नु काम त हो तर यतिमै सीमित पारियो भने बौद्धिक क्षमता विकास हुँदैन । आफूले कुनै न कुनै तरिकाले महत्वपूर्ण अवसर पाए सबैले पाए खाए भन्ने चिन्तन व्याप्त देखिन्छ । प्रतिभाशाली, योग्य र इमान्दार महिला अगाडि आउनै नदिने, आए कुनै न कुनै तरिकाले अवरोध सिर्जना गर्ने, महिलाका नामबाट पाउने सबै अवसर आफैँ मात्र हत्याउने, भए जति पदको माला आफैँ भिर्ने आफैँ मात्र ठालू पल्टिने संस्कार छ ।
स्वास्थानी व्रत कथामा छोरीलाई असाध्यै हेलाहोचो र अपमानमा गरिरहेको देखिन्छ । यस कथाको समापनमा र आठ रोटी लगायत अन्य ८,८ प्रसाद र फलफुल पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितको छोरालाई दिनु र मितको छोरा नभए नदीमा बगाई दिनु भनेर कथामा छोरीलाई सन्तान नै मानिएको छैन । छोरीमात्र हुने आमाले यो व्रतलिँदा प्रसादका ८,८ रोटी र प्रसाद के गर्र्नु ? वैदिक सनातन धर्म र धार्मिक ग्रन्थहरुमा महिलाका बारेमा मान र अपमान दुवै थरि विचार व्यवहार पाइन्छ । कहिले महिलालाई पूजनीय मानिएको छ भने कहिले अत्यन्त तिरस्कृत गरिएको पाइन्छ । पछिल्लो अवधिमा भने प्राय छोरीलाई भोग्या, भाग्यवादी, नोकर्नी र सुसारेका रुपमा मात्र हेरिएको देखिन्छ । नेपालको संविधानले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रिति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने किटानी व्यवस्था गरेको छ । त्यसअनुसार पनि स्वस्थानी बारेमा गम्भीर विमर्श जरुरी छ । सुरुमा आठ पानाको स्वस्थानी ब्रत कथा अहिले हजार पानाको भएको छ । संशोधन र परिमार्जन हुँदो रहेछ त । अनि गणतान्त्रिक नेपालमा स्वस्थानी ब्रत कथामा समय अनुसारको संशोधन किन नगर्ने ? त्यसो हुँदा अब संघीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि उही सामन्तकालीन अन्ध परम्परा र रुढीबुढीका पछि लाग्न सचेत महिलालाई सुहाउदैन ।
स्वस्थानी ब्रत कथामा गोमाले स्वीकार्न बाध्य पति शिव शर्मालाई कुप्रा, कान नसुन्ने, अधबेस्रा, डेब्रो, कैला आँखा भएका, अाँखिभौँ जोडिएका, केश पाकेका, मुखदेखि र्याल चुहाएका, अत्यन्त कुरुप र धरमर भएका बुढाका रुपमा चित्रण गरिएको छ । बाध्य बनाएर बिहे गरिदिने अनि कथामा यस्ता पति पाउनु भाग्यको लेखा हो, दैबको लिला हो र पुर्वजन्मको फल हो भनिएको छ । पुर्व जन्मको फल हो भन्ने देखाउन रामचन्दको बनवास, द्रोपदीको चिरहरण, शिवको कालकुट विष पान, यदुवशको सर्व नाश उदाहरणका रुपमा उल्लेख गरिएको छ । यसरी महिलालाई कल, बल, छल प्रयोग गरेर भाग्यबादी, परम्परावादी शिक्षाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चरम असमानता र शोषण गरिएको देखिन्छ । यस्ता कथा उपकथा हजारबार सुनाए पछि महिलाको मन र मस्तिष्क त्यही अनुसार बन्छ । अनि समाज कसरी अघि बढ्छ र ? राम्रा राम्रा कथा कहानी र विचार सुने, देखे र पढे पो चरित्र पनि त्यस अनुसारको हुन्छ । यस्ता कुरामा अनेम संघको ध्यान कहिलो जाला ? स्वास्थनी ब्रत कथामा यो जीवन जगतको सृष्टि कसरी भयो भन्ने पनि धार्मिक व्याख्या गरिएको छ । यी कुराहरु विन सम्मत छैनन् । कथामा यो संसारको सृष्टि हुँदा परब्रम्ह शिवको इच्छाले ब्रम्ह्मा विष्णु,रुद्र प्रकट भए भनिन्छ । यिनै त्रिगुण परब्रम्ह्म शक्तिवाट भगवती महामायाको उत्पत्ति भयो पनि भनिन्छ । यी महाशक्ति भगवतीलाई कसैले पनि बसमा राख्न सक्तैन भनिएको छ । अनि तिनै आदिशक्ति र महाशत्रिक्तको रुप स्वास्थानीलाई मानिएको देखिन्छ ।
एकातिर स्वास्थानी ब्रत कथामा नारीहरु आदिशक्ति, महाशक्त्ति र परब्रह्म शक्तिका रुपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निन्छरो र दासीका रुपमा उल्लेख गरिएको देखिन्छ । यस्तो खालको सोच र ब्यवहार पितृ सत्तात्मक समाजबाट सुरु हुदैँ विकाशित भएको हुनुपर्छ । स्वास्थानी भनेर एकातिर मातृ शक्तिको पुजा गर्नू अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, ब्यथा र वेदना हो । यस्ता व्रत कथा र पुराणहरु अब संशोधन गर्नुपर्छ । संशोधित कृति लेखन र प्रकाशन गर्नुपर्छ । अनेमसंघले यस्ता कुराको अगुवाइ गर्नुपर्छ ।
(चेलीको चिरहरण कृतिकी लेखक पोखरेल अनेम संघकी केन्द्रीय सदस्य हुनुहुन्छ सं.)













प्रतिक्रिया दिनुहोस्