जनता टाइम्स

१९ असार २०७६, बिहीबार १३:२७

ओली सरकारले अरू सरकार भन्दा राम्रो काम गरेको छ


सरकारको प्रवक्ता होइन म, तर यसले गरेका राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न मैले छोडेको छैन र छाडने पनि छैन । मेरो निष्कर्षमा २०५१ सालको नेकपा एमालेको सरकारले गरेका सोच र सञ्चालनलाई निरन्तरता दिएको हुनाले यो सरकारले अरू कुनै सरकारले भन्दा राम्रो गरेको छ

प्रदीप नेपाल

नेपालको शासन, प्रणालीको हिसाबले पुँजीवादको माथिल्लो चरण अर्थात संघीयतामा पुग्यो । तर व्यवहारमा भने शिरदेखि पुछारसम्म सामन्तवादले नेपाली समाजलाई कच्याप्प च्यापेको छ । त्यो सामन्तवाद संघीय संसद र संघीय सरकारमा सबैभन्दा बढी जब्बर छ । त्यसैले नेपालको अहिलेको व्यवस्था अस्तव्यस्त छ । संघीयताको सबलीकरणका लागि संघीय शिक्षाबाहेक अरू त्यस्तो ठूलो कुनै समस्या छैन । अधिकांश स्थानीय सरकारले जनताको हितमा काम गरेका छन । कसैले आफ्नो पाइनदार गाडीको साटो एम्बुलेन्स किनेका छन । किसानहरूलाई कृषि औजार वितरण गरेका छन । सरकार र जनताबीचको सम्बन्ध घनिष्ठ बनाएका छन । कसैले बाटो बनाएका छन । बहुसंख्यक स्थानीय सरकारले आफ्नो शक्ति चिन्न थालेका छन । त्यसैले संघीयतासम्बन्धी गोष्ठी गरेर तल्लो तहलाई प्रशिक्षण दिन पाए, उनीहरू स्वयं आफ्नो रक्षा र विकास गर्न सक्नेछन ।

तर संघीय संसद र सरकार यही सत्य आम नागरिकबाट लुकाउन चाहन्छ । त्यसैले माथिकाहरू संघीयताको शिक्षालाई देवी देउता, धर्म, लफडामा लगेर मूल मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन । मैले कुनै एउटालाई भनेको होइन । एकथरी मानिसहरू इसाईहरू बढेका बढ्यै छन, हिन्दुहरू घटेका घट्यै छन भनेर चिन्ता गरिरहेका छन । अर्को कराउँछ, पुराना मूल्यमान्यता हराउँदै गएका छन । सांस्कृतिक अतिक्रमण बढेको छ । सरकारलाई कुनै चासो छैन । यतिमात्र होइन, नेपाली बजारमा सागसब्जी र फलफूलको अभाव भएको छ । भारत–नेपालका विभिन्न नाकामा थुपारिएका कन्टेनरमा फलफूल सड्न थालेका छन । म त्यो कामलाई राम्रो काम मान्छु । भारतीय विषादीमा घोलिएको फलफूल र सागसब्जी खानुभन्दा, सब्जी उत्पादनमा आत्मनिर्भर नभइञ्जेल हामी पानी मात्रै खाएर भए पनि बाँच्न सक्छौँ । बाँच्न सक्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रवक्ता होइन म, तर यसले गरेका राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न मैले छोडेको छैन र छाडने पनि छैन । मेरो निष्कर्षमा २०५१ सालको नेकपा एमालेको सरकारले गरेका सोच र सञ्चालनलाई निरन्तरता दिएको हुनाले यो सरकारले अरू कुनै सरकारले भन्दा राम्रो गरेको छ । सांस्कृतिक मूल्य मान्यता मान्छेले जोगाउने हो । यो कुनै पनि सरकारको जिम्मेवारीमा पर्दैन । म त्यसको झिल्को देखिरहेको छु । नयाँ नयाँ झरनाहरू भेटिएका छन, नाम थाहा नभएका पोखरीहरू अहिले जन्मिएका छन । कतिपय स्थानमा नयाँ गुफाहरू भेटिएका छन । आफ्नो गाउँपालिकालाई आत्मनिर्भर बनाउने होड चलेको छ । चाडबाडहरू पनि बढेका छन । यसको संरक्षण सिंहदरबारबाट होइन, स्थानीय सरकारबाटै हुनुपर्छ ।

यो किन देख्दैनन् उपत्यकामा बस्ने नेताहरू ! नेपाललाई सफल संघीय राज्य बनाउने काममा उनीहरूको कुनै भूमिका हुँदैन ? ‘नेपाल अब हिन्दु राज्य घोषित हुन्छ (किनभने भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले उत्पात चुनाव जितेको छ) !’ यसले हल्ला र त्रास दुवै बढाएको छ । तर यो चाहिँ अज्ञानीको बहस हो । के नेपाल भारतजस्तै हिन्दु राष्ट्र हो ? होइन । चित्त नबुझे छलफल गरौँ ।

नेपालको पहिलो र ठूलो बस्ती ह्वाङ्हो (चीन) बाट बसाइँ सरेर आएका किराँतहरूको हो । पश्चिम उत्तरको ककेसियाबाट आएका खसहरूको आगमनकाल पनि सोही समयको हो । तर किराँत र खस दुवै समुदाय हिन्दु होइनन । किराँतहरूको आफ्नै मौलिक धर्म छ । खसहरू त कुनै धर्म मात्रै होइन, धर्मको भिक्षा दिने देवदेवीको अस्तित्व नै स्वीकार गर्दैनन । त्यसो भए हिन्दु राष्ट्र कहाँबाट आयो ? हामी धेरैलाई थाहा छ त्यो पनि भारतीय भूमिबाटै आयो । इसाको तेस्रो, चौथो शताब्दीबाट आरम्भ भएर दशौं–एघारौं शताब्दीको बीचमा हिन्दुस्तानबाट आएका हिन्दुहरूले नेपाललाई हिन्दु राष्ट्र भन्न थालेका हुन् ।

तिनै हिन्दुको पेलानमा पर्दै रैथाने नेपाली पनि हिन्दु भनिन थालेका हुन । यो निष्कर्षलाई नपत्याउने अधिकार पनि छ पाठकहरूलाई । सिन्धु तरेर हिन्दु हुने आर्यहरूमा लडाइँ, झगडा गर्ने पौरख ठूलो थियो । सिन्धुघाँटी सभ्यतालाई तहसनहस तुल्याउने ती आर्यहरूका अगाडि पाखापखेरामा खेती गरी बसेका, पशुपालनलाई सबैभन्दा ठूलो व्यावसायिक काम गरेका खस र किराँतहरू टिक्ने सम्भावना पनि थिएन । आर्यावर्त बनाउने अभिलाषा बोकेका हिन्दुहरूले किराँतीहरूलाई पूर्वतिर खेदेका हुन् भन्ने सत्य अहिले प्रमाणित भइसकेको छ । तिनीहरूले पाटनको च्यासलमा आमनरसंहार गरेको इतिहास पनि मरेको छैन ।

उपत्यकाबाट भागेर पूर्वदक्षिणतिर लागेका किराँतीहरू कहिल्यै हिन्दु भएनन । खसहरू विस्तारै आर्यहरूसँग मिसमास हुन थाले । आफ्नो इतिहास बिर्सिएका खसहरू अहिले धार्मिक अन्योलमा छन । पछिल्लो समयमा ज्ञानको ढोका खुल्दै जाँदा उनीहरू पनि आर्य हिन्दुहरूबाट छुट्टिन थालेका छन । यसो हुँदा हिन्दु धर्म ८१ प्रतिशत नपुग्ने टुङ्गै छ । किनभने किराँत र खसहरूलाई एकै ठाउँमा राख्दा कति प्रतिशत हुन्छ त्यसको निर्णय पाठकहरूबाटै होस ।

‘नेपाल हिन्दु राष्ट्र होइन’ यो सत्य मैले नेपालकै ठूला नेता र अध्ययनशील बुद्धिजीवीबाट सारेको हुँ । नेपाली कांग्रेसका सभापति, जननायक, बीपी कोइरालाले २०३६ सालमै भन्नुभएको रहेछ, नेपाल हिन्दुराज्य हुँदै होइन । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । (२०३६ सालको ‘विक्ली मिरर’)
विश्वको एकमात्र ‘हिन्दु राष्ट्र, हिन्दु राजा’ को दुन्दुभि बजेको बेला यति कडा शब्दमा आफ्नो मत राख्ने बीपी कोइराला अहिले फराकिलो नेपालमा हिन्दु राष्ट्र चाहियो भन्ने आन्दोलन गर्नुहुन्थ्यो ? त्यसैले नेपाली काँग्रेसका साथी हो–गम्भीर भएर सोच्नुहोस अनि मात्र धर्म र राज्यको बारेमा निर्णय गर्नुहोस । होइन, बीपी कोइरालालाई हामी चिन्दैनौं भन्नुहुन्छ भने मैले थप केही भनिरहनु नपर्ला ।

यो किन देख्दैनन् उपत्यकामा बस्ने नेताहरू ! नेपाललाई सफल संघीय राज्य बनाउने काममा उनीहरूको कुनै भूमिका हुँदैन ? ‘नेपाल अब हिन्दु राज्य घोषित हुन्छ (किनभने भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले उत्पात चुनाव जितेको छ) !’ यसले हल्ला र त्रास दुवै बढाएको छ । तर यो चाहिँ अज्ञानीको बहस हो । के नेपाल भारतजस्तै हिन्दु राष्ट्र हो ? होइन । चित्त नबुझे छलफल गरौँ

त्यतिबेला, हिन्दु धर्मको बिगबिगी कति थियो भने हिन्दु धर्मका पण्डितजीहरूले बुद्ध धर्मलाई हिन्दु धर्मको शाखा बनाएका थिए । शिखहरू पनि नेपालमा हिन्दु नै मानिन्थे । जहाँसम्म इसाई धर्मको कुरो छ, त्यसलाई ढाँट भन्छु म । किनभने प्रभु इशु भन्ने प्राणी सम्पूर्णमा काल्पनिक हुन । युग परिवर्तन गर्ने महानता बोकेको दासविद्रोहको स्पार्टाकसको विद्रोह साम्य पार्न नसकेपछि रोमन सम्राटले तिनै स्पार्टाकसलाई ‘ब्युटिफिकेशन’ गरेर लामो कपाल भएका भगवान बनाएर नागरिकलाई अलमल्याउने काम गरेका हुन । तर विद्वान इसाईहरू यो सत्यलाई स्वीकार्न मान्दैनन । हाम्रातिरका अध्यात्मवादीहरूले बरु ढाँटेका छैनन । तिनले बुद्धको नक्कली गाथा पनि गाएका छैनन । सिद्धार्थ गौतम थिए । उनको दर्शन भौतिकवादी थियो । पछिका मानिसहरूले सिद्धार्थ गौतमलाई नै भगवान बुद्ध बनाइदिए । अहिले गौतम बुद्धको सही परिचय खुलेको छ– विश्वका शान्तिदूत ।

इसाई धर्मका पण्डितहरूले दासविद्रोहका महान नेता स्पार्टाकस नै हाम्रा भगवान हुन भनेर सत्य नबोलेसम्म इसाई मतलाई ‘धर्म’ भन्नु भ्रमबाहेक अरू केही हुन सक्दैन । तर इसाई मतावलम्बी साह्रै धनी भएको हुनाले, आफ्नो ठगी धन्दाको व्यापार गरिरहन्छन । कम्युनिस्टहरू त उसै पनि धर्म नमान्ने वितण्डा बोकेर बाँचिरहेकै छन । तर किन ? यसको एउटा कारण पनि बुझिहालौं । जननेता मदन भण्डारीले भन्नुभएको छ– राजा हिन्दु भएको हुनाले हिजो हिन्दु अधिराज्य भयो । अहिले सबै धर्मावलम्बीका प्रतिनिधिहरूले शासन गरेको हुनाले नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ । (मदन भण्डारी ०४७ को संविधानको आलोचना । )

एकजना लेखक हुनुहुन्छ– सौरभ । उहाँका रचना पढेपछि मात्र उहाँको विद्वत्ताको कसी पत्ता लगाउन सकिन्छ । उहाँ भन्नुहुन्छ– नेपाल हिन्दु राष्ट्र हुँदै होइन । हामी शैव हौं र शैवहरू हिन्दु होइनन । हुन त जानी जानी सुतेकाहरूलाई उठाउन सकिँदैन । तर भ्रान्तहरूको भ्रममा परेकाहरूलाई सहयोग गर्न सकिन्छ ।