विनोद ढुंगाना, तनहुँ । शान्त बन्दीपुर बजार । विन्धवासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाले छपक्क छाएको छानो । टुँडाल, झ्याल, ढोका, खाँबोमा नेपाली कला झल्किन्छ । भित्तामा रातो रङ । गाढा होइन, उडेर फिका देखिन्छ । हो, विन्धवासिनी मन्दिरसँग आमनेसमानेको घरले मौलिकता बोकेर बसेको छ वर्षौदेखि । भुई तलामा दुई चार थान कुर्सी झ्यालको चहरबाट चियाउँदा देखिन्छ । माथिल्लो तलमा के छ बन्दीपुर घुम्ने धेरैले मेसै पाउँदैनन् ।
मौलिकता त यो घरमा छदैछ । साथै घरले निकै महत्वपूर्ण इतिहास पनि नाता लगाएको छ । बन्दीपुरे इतिहासको साक्षी बसेको छ भन्दा फरक पर्दैन । बन्दीपुर बजारमा आसिन त्यो पुरानो घर बन्दीपुर पद्म पुस्तकायलयको भवन हो । जो बन्दीपुरको इतिहास बोकेर बसिरहेको छ । जुन पुस्तकालय बन्दीपुरको इतिहास र वर्तमान विकासको साक्षी पनि हो ।
भित्तामा झुन्ड्याइएको बोर्डले भन्छ, ‘पुस्तकालय २००१ सालमा स्थापना भएको हो । बोर्ड देखेपछि जो कोहीलाई लाग्न सक्छ राणा शासन चलिरहेको बेलामा पनि पुस्तकालय खुलेको रहेछ । इतिहासका पानाहररू पल्ट्याएर हेर्दा राणा शासनमा पुस्तकालय खुलेको मात्रै थिएन । त्यही पुस्तकालयबाट राणा शासन विरोधी गतिविधि पनि चलेका थिए । बन्दीपुर पद्म पुस्तकालय शासन व्यवस्था बदल्ने, चेतनाको विगुल फुक्ने र शिक्षाको ज्योति छर्ने एक ऐतिहासिक थलो हो ।
भरिभराउ छ बन्दीपुर बजार । तर, बजार बिचमा रहेको पुस्तकालय एक्लो छ । माथिल्लो तलामा रहेको पुस्तकालयको मुल ढोकामा लगाएको ताल्चा कमै खुल्छ आजभोलि । बरु, ताल्चा खोलेर हेर्दा पुराना पुस्तकमा टाँसिएका धुलोको गन्ध नाकसम्म आइपुग्छ । इतिहासलाई भने जोगाएर राखेका छन् तिनैै पुराना धुलाम्मे पुस्तकले ।
पद्म पुस्तकालयले २०७५ सालमा आफ्नो हिरक जयन्तीमा प्रकाशित गरेको ‘मुलबाटो’ पुस्तकमा प्रकाशित मणिकुमार प्रधानको लेख ‘सचेतनाको सूचक पद्म पुस्तकालय’ (पुष्ठ ५६०) अनुसार २००१ सालमा रामप्रसाद खनालको अध्यक्षतामा रहेको समितिले पुस्तकालय खोलेको हो । समितिको सदस्यमा सूर्यलाल प्रधान, ज्ञानहरी शर्मा, शम्भुलाल प्रधानलगायत हुनुहुन्थ्यो ।
१९९७ सालमा राणा शासन विरोधी अभियोगमा धर्मभक्त, शुक्रराज, दशरथ चन्द र गंगालालले प्राण दान दिएर सहिद भए । त्यसपछि ‘जयतु संस्कृतम्’ नामको झिल्को देखियो । त्यसैको उपज रहेछ बन्दीपुर पद्म पुस्तकालय । २००१ सालमा स्थापना भएको पुस्तकालयले सुरुमा स्वीकृति पाउन सकेन् । भानु वाचनालयको रुपमा स्थापना भएको जानकारहरु बताउँछन् । २००४ सालमा पद्म शम्सेर प्रधानमन्त्री भएपछि पुस्तकालय खोल्न बन्दीपुरेले बिन्ती चढाउँदा उहाँले आफ्नै नाममा पद्म पुस्तकालय खोल्न स्वीकृति दिएको बन्दीपुरे प्रध्यापक गोर्वधन भट्टराई बताउँनु हुन्छ । ऐतिहासिक पुस्तकालय बारेका जानकार भट्टराई भन्नुहुन्छ, ‘यहाँको भाषा पाठशालाका शिक्षकहररू, वरिष्ठ समाजसेवी र बुद्धीजिवीको पहलमा खोलिएको हो पुस्तकालय ।’
उहाँका अनुसार पुस्तकालय राणा शासन विरोधी गतिविधि सञ्चालन गर्ने थलो थियो रे । पुस्तकालयले शिक्षाको ज्योति छर्नेसँगै राणा विरोधी जागरण जगाउन तनहुँवासीलाई मद्दत पुर्यायो । ‘जहाँ नेपाली कांग्रेसहरू जम्मा भएर राणा विरोधी आन्दोलनका निम्ति छलफल गर्ने, बैठक बस्ने, निर्णय गर्ने र राष्ट्रियस्तरमा थाहा पाएका कुराहरू पुस्तकालयमा पढ्ने वाहनामा गएर एक आपसमा रिले गर्थे । आन्दोलन चलाउने काम पनि त्यहीँबाट हुन्थ्यो,’ भट्टराईले सुनाउनु भयो । तर पुलिस सेनाको रेखदेख र निगरानी निरन्तर रहन्थ्यो रे पुस्तकालयमा । किताबको समेत जाँचबुझ हुने गरेको प्रध्यापक भट्टराई बताउनु हुन्छ ।
उहाँ भन्नुहुनछ, ‘किताबहरू वनारसबाट ल्याउँथे उनीहरू । अलिअलि राणा विरोधी आन्दोलनका पत्रपत्रिका हुन्थे । भारतीय लेखकका किताब, ज्ञानगुन, सिद्धान्त, दर्शन र पौराणिक किताबहरू हुन्थे । तर, ति किताबहरूको जाँचबुझ र रेखदेख भइरहन्थ्यो । धेरै किताब त पुस्तकालयमा भन्दा घरमा राखिन्थ्यो । किताबहरू भारतको वनारस पुगेका व्यापारीहरूले ल्याईदिन्थे । त्यतिबेला बन्दीपुर व्यापारीक गढी थियो । बन्दीपुरे नेवाहरूले भारतबाट नुनदेखि सुनसम्म ल्याएर बन्दीपुरबाट बेच्थे रे ।’
२००७ सालमा पुस्तकालयमार्फत नै बन्दीपुरमा जनसरकार चलेको उहाँ बताउनु हुन्छ । २००७ साल कात्तिकदेखि जनसरकार चलेको भट्टराईले बताउनु भयो। भट्टराईका अनुसार जनसरकारले मानापाथी आफ्नै चलाएको थियो । ७ फागुन २००७ को दिल्ली सम्झौतापश्चात भने बन्दीपुर जनसरकारको मन्त्रीमण्डल भंग भएछ ।
२००७ सालको क्रान्ति सफल हुनुमा बन्दीपुर पुस्तकालयको पनि योगदान देखिन्छ । त्यसपछिका परिवर्तनमा यो पुस्तकालयको योगदान स्मरणयोग्य नै छ । राजनीतिक परिर्वतनमा मात्रै नभएर शैक्षिक परिर्वतन र जागरणमा पुस्तकालयको भूमिका उस्तै छ । ‘शिक्षामा जागरण गर्न पुस्तकालयले धेरै सहयोग गरेको थियो । पुस्तकालयले नै शिक्षाको जागरण गर्दै आयो । २०१५ सालमा मात्रै हाइस्कुल खुलेको हो बन्दीपुरमा । हाइस्कुल भएपछि पनि पुस्तकालय प्रयोग धेरै भो । स्कुलमा पुस्तकालय थिएन् । शिक्षक विद्यार्थी सबै जना पुस्तकालयमा गएर पढ्ने भन्ने थियो,’ भट्टराईले भन्नुभयो । अहिले पुस्तकालयमा पढ्ने निकै कम छन् । त्यसैले त होला पुस्तकालय खोलेर भित्र पस्दा पुस्तकहरू धुलाम्मे देखिन्छन् । व्यवस्थित छैनन् ।
२०३५ सालपछि त पुस्तकालय बन्द नै भएछ । २०२५ सालमा बन्दीपुरबाट सदरमुकाम दमौली झरेको थियो । बन्दीपुर मृत्युशैय्यामा पुगेको थियो । एक्लिएको सुनसान बन्दीपुरका पुस्तकालयमा गएर पढ्ने भएनन् । ५० को दशकमा त झण्डै अस्तित्व मेटिएनछ । त्यतिबेला बन्दीपुरेहरू मिलेर पुस्तकालयलाई जोगाए, जिर्णेदार गरे । २०५२ सालमा पुस्तकालयको जिर्णोदार गरेको बन्दीपुर पुस्तकालय सञ्चालक समितिकी अध्यक्ष विमला श्रेष्ठ बताउनु हुन्छ । पहिलाको भवनको फोटो खिचेर राखेर दुरुस्तै जिर्णोदार गरेको उहाँको भनाइ छ ।
जिर्णोदार गरेर पुस्तकालय त जोगाईयो तर पाठकको चासो घट्दो छ । ‘पहिला यहाँ सबै खाले मान्छे पढ्न आउथे । अहिले मोबाइल इन्टरनेटको जमाना आएपछि चाहिँ पाठकको कमी छ । अहिलेको समयअनुसार पर्याप्त मात्रमा किताब नपुगेको हो जस्तो लाग्छ,’ उहाँले भन्नुभयो । कहिलेकाँही विदेशी पर्यटक आएर पुस्तकालय पसेर पढ्छन् । ‘पुस्तकालयमा भएका पुराना पुस्तकको महत्व कति छ भनेर विदेशीले सुनाउँछन् । हामीलाई पत्तै छैन्’, उहाँको भनाई छ ।
पुस्तकालयलाई माथी उकास्न बन्दीपुरेको चासो भएपनि पर्यटकीय क्षेत्र भएकाले कसैले समय दिन नभ्याएको विमला बताउनु हुन्छ । पुस्तकालयलाई इ–लाइब्रेरी बनाउन लागेको उहाँले सुनाउनु भयो । इ–लाइब्रेरी बनेपछि पाठक बढ्ने आशा छ उहाँसँग ।
बन्दीपुर पद्म पुस्तकालयलाई प्रविधिमैत्री इ–लाइब्रेरी बनाउन कस्किएका छन पुस्तकालयलाई माया गर्ने बन्दीपुरेहरू । क्यानडाबाट रत्नकुमार श्रेष्ठ र काठमाडौँबाट चिजकुमार श्रेष्ठ जुटिरहनु भएको छ ई–लाइब्रेरी बनाउँन । चिजकुमारका अनुसार ई–लाइब्रेरी बनाउन आर्थिक संकलन भरहको छ । ‘ई–लाइब्रेरीसँगै पुस्तकालयलाई नयाँ स्वरुप दिने प्रयास हो । अहिलेसम्म क्याटलग पनि छैन् । म्यानुअल्लि चलिरहेको छ । ई–लाईब्रेरी बनाएर क्याटलगका लागि आवश्यक सफ्टवयेर पनि राखिनेछ,’ उहाँले भन्नुभयो ।
इ–लाइब्रेरी बनाउन एक लाख ५० हजार रुपैयाँ बिउ पुँजी संकलन भइसकेको चिजकुमारले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ । उहाँको ६ लाख रुपैयाँ बजेट भएमा ई–लाईब्रेरी बनाएर स्वरुप फेर्न सकिने अनुमान छ । पुस्तकालयको अक्षय कोषमा पनि ६ लाख रुपैयाँ जम्मा भएको सञ्चालक समितिले जनाएको छ । पुस्तकालयभित्रको स्वरुप फेरिएर व्यवस्थित बनोस् । इतिहास बोल्ने पुराना पुस्तकहरु पनि जोगिओस् भन्ने आम बन्दीपुरे चाहान्छन् । (न्यूज कारखाना)













प्रतिक्रिया दिनुहोस्