सुर्खेत, ४ वैशाख । कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिनुभयो ।
‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी छलफल हुँदैछ,’ उहाँले भन्नुभयो,‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।’ आज एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ ।
आफ्नो हैसियतभन्दा ठूलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमत हुन नसकेको माओवादीका एक नेताले बताउनुभयो । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।
डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासीन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषयबन्दा सहमति ठोस सहमति हुन सकेको छैन ।
सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको छ । सल्यानमा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको नेताहरू बताउँछन् । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी छ ।
कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन । जिल्लाबाट आएको रिपोर्टको विषयमा आज प्रदेशमा बसेर निर्णयक छलफल गर्न लागेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्