जनता टाइम्स

८ भाद्र २०८३, सोमबार १२:३७

कर्णालीमा नेकपाभित्रै मिलेन मन्त्रीको भागबण्डा, मन्त्रीको शपथ कार्यक्रम नै रोकियो


सुर्खेत, भदौ ८ । कर्णालीमा मन्त्रीको शपथ कार्यक्रम नै स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि आज बिहान ११ बजेका लागि तय गरिएको शपथ कार्यक्रम नै मुख्यमन्त्री मंगलबहादुर शाहीले स्थगित गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग्नुभएको थियो । मुख्यमन्त्रीको आग्रहमा प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो ।

तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम नै पठाउन नसकेपछि स्थगित गर्नुभएको हो । मन्त्री नियुक्तिमा पार्टीभित्र सन्तुलन मिलाउन नसकेपछि मुख्यमन्त्री शाही आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रदेश प्रमुख कार्यालयका एक पदाधिकारीले भेटमा मुख्यमन्त्री शाहीले ‘हाम्रो कुरा मिलेन, आजको कार्यक्रम रोकिदिनुपर्यो, अब ११ गतेसम्म हुन्छ कि’ भन्ने जानकारी दिनुभएको छ । शपथ रोकिनुमा सत्ता साझेदार नेकपा एमाले नभई स्वयं नेकपाभित्रको किचलो रहेको छ । यसअघि मुख्यमन्त्री शाहीले विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि तय गर्नुभएको थियो तर माधव नेपाल र झलनाथ खनाल नेतृत्वको साबिक समाजवादी धारले प्रतिवाद गरेपछि रोकिएको हो ।

नेकपामा हाल एउटै पार्टीभित्र तीन वटा पार्टीको गृहकार्य समानान्तर रुपमा चलिरहेको कारण यो समस्या आएको हो । साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीबाट खडका एक मात्रै समानुपातिक सांसद हुनुहुन्छ । यस्तै साविक माओवादीभित्र पनि चर्काे लडाईं रहेको छ ।

कर्णालीमा मुख्यमन्त्री शाही नेतृत्वको नेकपाको भागमा तीन मन्त्रालय र एमालेको भागमा तीन वटा मन्त्रालय परेको छ । एमालेले ३ मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको छ ।