काठमाडौं, असोज २३ । धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी छन्। चक्कु प्रहारबाट २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घाइते साफीको उपचारका क्रममा बिहीबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। राइनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधामका २२ वर्षीय मोहम्मद इर्साद खानलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण खानले साफी र राइनमाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जनाको छाती र पेटमा चक्कु प्रहार भएको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका खानमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्