जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार ०८:३३

कांग्रेसको १५औँ महाधिवेशन : मतदान सुरु, दिउँसाे तीनबजेसम्म मतदान हुने 


काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसाल्नुभएसँगै मतदान प्रक्रिया अघि बढेको हो।

मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका थिए। हिजाे मतदान गर्न नपाएका प्रतिनिधिहरु आज बिहानैदेखि लाइनमा थिए । 

खराब मौसम, प्राविधिक समस्या तथा मतदान प्रक्रिया सुरु गर्न भएको ढिलाइका कारण अघिल्लो दिन अपराह्नदेखि गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिले जनाएको छ। रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई कठिनाइ हुने र स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले बिहानदेखि मतदान सुरु गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार आज दिउँसो ३ बजेसम्म मतदान समय ताेकिएकाे छ। महाधिवेशनमा कुल ७ हजार ३ सय १७ जना प्रतिनिधि मतदाता रहेका छन्।

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको अतिरिक्त खर्च व्यवस्थापनका लागि नेपाली कांग्रेसले जिम्मेवारी लिने भएको छ।

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठका अनुसार महाधिवेशन प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ तथा खानाको खर्च पार्टीले नै बेहोर्नेछ।   

निर्वाचन समितिले प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्न विभिन्न स्थानमा मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्नुपर्नेछ।

निर्वाचन समितिले निर्धारण गरेका मतदान केन्द्र यसप्रकार छन् :

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ : बागमती प्रदेश

खुलामञ्च, मतदान केन्द्र ‘ख’ : कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाल हल : गण्डकी प्रदेश

तराई–मधेस हल : मधेस प्रदेश

पहाड हल : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिध

निर्वाचन समितिले निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले समितिले निर्धारण गरेको प्रक्रिया पालना गरेर मात्रै मतदान गर्नुपर्नेछ।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गर्ने तयारी गरेको छ। मतदानपछि मतपेटिकालाई सुरक्षित रूपमा व्यवस्थापन गरेर निर्धारित प्रक्रियाअनुसार मतगणना अघि बढाइने समितिले जनाएको छ।  महाधिवेशनबाट विधान संशोधन गरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय बनाइएको छ। नयाँ