जनता टाइम्स

३ भाद्र २०८३, बुधबार ०९:२८

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै


काठमाडौं, साउन ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ।

नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लाग्नुभएको हो।

तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच खटपट देखिएको छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुन नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हाल मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उहाँ एक्लै हुनुहुन्छ।

एमालेसँग मन्त्रालय बाँडफाँटबारे छलफल टुंगोमा नपुग्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया अघि बढाउनुभएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको छ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक हुन्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्ने देखिन्छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि दुई दलबीच सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ।