जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ००:००

कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या


जाजरकोट, २८ वैशाख । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।

नलगाड–८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताउनुभयो । यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उहाँले बताउनुभयो ।