जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १२:३८

पराजयको जिम्मा लिँदै कर्णाली स्थानीय नेताहरूको धमाधम राजीनामा


सुर्खेत, जेठ ६ । कर्णाली प्रदेशका स्थानीय तहमा पराजाय भोगेको भन्दै नेकपा एमालेका नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । चुनावमा जिताउन नसकेकोमा जिम्मा लिँदै राजीनामा दिएका हुन ।

सुर्खेतको लेकबेसी नगरपालिकाका इञ्चार्ज र सहइञ्चार्जले पार्टीलाई जिताउन नसकेको भन्दै नैतिकताका आधारमा राजिनामा दिएको दुई दिनपछि मुगुका सचिव डबल रोकायाले पनि राजिनामा गर्नुभएको छ । रोकायाले शुक्रबार राजिनामा पत्र सावर्जनिक गर्दै मुगुको एउटा पालिका बाहेक अन्यत्र प्रमुख पदमा नतिजा पार्टीको पक्षमा ल्याउन नसकेकोले राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले पदबाट राजिननमा गरे पनि पार्टीभित्रको अराजकता, व्यक्तिवादलाई निरुत्साहित गर्दै पार्टीलाई जनताका बीचमा थप लोकप्रिय बनाउन निरन्तर क्रियाशिल हुने प्रतिवाद्धता जनाउनु भएको छ । यस्तै लेकबेसी नगरपालिका इञ्चार्ज टीकाराम सोमै र सहइन्चार्ज शान्ती कुमारी छन्तेलले विगत्को निर्वाचनमा पार्टीले कायम गरेको बहुमत जोगाउन नसकेकोले राजिनामा दिएको स्पष्ट पार्नुभएको छ ।

उहाँहरूले एक विज्ञप्ती जारी गर्दै गत निर्वाचनमा नगरपालिकामा प्रमुख, उपप्रमुख सहित ६ वटा वडा जितेको स्मरण गर्दै यस वर्ष उपप्रमुख र २ वटा मात्र वडा जितेकोले उक्त हारको नैतिक जिम्मेवारी लिंदै पदबाट राजिनामा दिएको उल्लेख गर्नुभएको छ । पदबाट राजिनामा गरे पनि पार्टीमा क्रियाशिल रहने उल्लेख गर्नुभएको छ ।

देशका केही मजबुद ठाउँमा एमालेले यसरी नै चुनाव हारेको छ । कतिपयले यसलाई नेतृत्वको कमजोरीको कारण देखाएका छन् । अरू पालिकाबाट पनि यसैगरी नैतिक जिम्मेवारी लिएर एमालेका नेताहरूले राजिनाम देलान् त ? कार्यकर्ताहरू प्रश्न गर्छन् । केन्द्रीय नेताहरुलाई दवाव दिन पनि यो काम गरेको राजीनामा दिनेहरुको भनाई छ ।