जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ००:००

देउवा सरकारको ११ महिनामा पेट्रोलमा ७८ रुपैयाँ मूल्यवृद्धि : इन्धन करसहित भारतमा मूल्य घट्यो, नेपालमा बढ्यो


काठमाडौं, जेठ ९ । सर्वाेच्च अदालतको परमादेशबाट गठन भएको पाँच दलीय गठबन्धन सरकारले ११ महिनामा पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ । सरकारले नागरिकको ढाड सेक्ने गरी भारी मूल्यबृद्धि गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार सरकार गठन हुनुअघि गत वर्ष असार अन्तिमतिर पेट्रोल प्रतिलिटर १०२, डिजेल र मट्टीतेल ८८, ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा पाइन्थ्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारत सरकारले कर कटौती गर्दै शनिबार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनाएको छ ।

ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिइएको छ । भारतमा मार्च २२ पछि लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको छ । नेपालमा भने इन्धनमा १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको एक सातामै फेरि उही दरमा भाउ बढाइएको छ । सरकारले स्थानीय निकायको निर्वाचन सकिएको भोलिपल्टै (वैशाख ३१) इन्धनको मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य अचाक्ली बढेको जनाउँदै नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो । बजार मूल्य अचाक्ली बढिरहँदा सरकारले कर घटाउन कुनै चासो दिएको छैन । निगमको विवरणअनुसार आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर/शुल्क लाग्छ । त्यस्तै, १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्दै आएको छ ।

त्यसमा ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, विक्रेता कमिसन जोडेर उपभोक्तालाई थप भार थोपरिदिएको छ । यी शीर्षकमा उठाइने शुल्क परिमार्जन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आइतबार प्रतिब्यारेल १ सय १२ डलरमा कारोबार भएको छ । कच्चा पदार्थको मूल्यसँगै डलरको मूल्य पनि बढेको छ । तिनै कारणले इन्धनको मूल्य बढेको जनाइएको छ ।