जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १६:५६

पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यबृद्धिको बचाउमा उत्रियो कांग्रेस


काठमाडौं, जेठ ९ । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पेट्रोलियम पदार्थमा सरकारले गरेको भारी मूल्यबृद्धिको बचाउ गर्नुभएको छ । अन्तर्राष्ट्रिय मूल्यवृद्धि थेग्न नसक्ने अवस्थामा पुगेका कारण सरकारले मूल्य बढाएको भन्दै कांग्रेस प्रवक्ता बचाउमा उत्रनुभएको हो ।

उहाँले कांग्रेसले जनतालाई सहज हुने गरी सरकारको तर्फबाट सबै प्रयास गरिरहेको भन्दै मूल्यबृद्धि सही रहेको बताउनु भयो । ‘हामीले यो विषयलाई हल्का रुपमा लिएका छैनौं । अहिले पनि सरकारले धेरै ठूलो अनुदान दिइरहेको छ । तर, अन्तर्राष्ट्रियस्तरमा हृवात्तै मूल्यवृद्धि भएका कारण सरकारले दिएको अनुदानले त्यसको क्षतिपूर्ति गर्न सकेको छैन,’ केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै महतले भन्नुभयो ।

उहाँले जनतालाई अप्ठ्यारो नपरोस भनेर मूल्यबृद्धि गरिएको तर्कसमेत गर्नुभयो । ‘सरकारले जनतालाई कमभन्दा कम अप्ठ्यारो पर्ने गरी व्यवस्थापन गर्न प्रयास गरिरहेको छ,’ महतको भनाई थियो । उहाँले कांग्रेस र कांग्रेस नेतृत्वको सरकार जनतालाई मूल्यवृद्धिको मार नपर्ने अवस्था बनाउन हरप्रयास गरिरहेको झुटो दावी पनि गर्नुभयो ।