जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार २०:०३

धरानको मेयर बनेपछि हर्कराजको पहिलो निर्णय : कर प्रणाली व्यवस्थित गर्न कार्यदल


सुनसरी, जेठ १० । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ग मेयर भएको भोलिपल्ट नै कर सम्बन्धी व्यवस्थाहरुलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन भएको छ । मेयर साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।

कार्यदल गठन गर्ने निर्णयमा भनिएको छ ‘नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको सूची भित्रका कार्यहरु सञ्चालन गर्न स्थानीय तहलाई सुम्पिएका कर तथा गैर कर राजश्वका स्रोतहरुको पहिचान दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ ।’

कार्यदलको संयोजकमा नगर उपप्रमुख रहनुभएको छ । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधिलाई राखिएको छ । सदस्य सचिवमा पालिकाको राजश्व महाशाखा प्रमुख तोकिएको धरान उपमहानगरका सुचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताएका छन् ।