जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार ११:५८

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति र कार्यक्रम आएन : पूर्वअर्थमन्त्री बिष्णु पौडेल


काठमाडौं, जेठ १४ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । पौडेलले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको भन्दै कडा आपत्ति पनि जनाउनु भयो ।

सरकारले जेठ १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

‘संकटोन्मुख अर्थयतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या हो । चुनौती हो । तर, नीति तथा कार्यक्रम संकट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी प्रस्तुत भएको छ’, पौडेलले भन्नुभयो, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको पौडेलको निश्कर्ष छ । नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको ,समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उहाँले बताउनु भयो ।