काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ। नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि आज अपराह्नमा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्टहरूको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको छ । उपमेयर सुनिता डंगोलसँगको छलफलपछि मेयर बालेन साहले सो प्रस्ताव गर्नुभएको थियो ।
‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय निःशुल्क गर्ने,’ बैठकमा साहले भन्नुभयो, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं। महानगरले सर्टिफाइ गरिदिन्छ।’
साहले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताउनुभयो। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन। ‘अहिले नै यो यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ साहले भन्नुभयो ।
उहाँको प्रस्तावमा सवैले सहमति जनाएपछि निर्णय भएको हो । यस्तै गुनासो सुन्नको लागि कल सेन्टर पनि स्थापना गर्ने निर्णय भएको छ। कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय पनि भएको छ। यस्तैगरी, दुइटा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स १० दिनभित्र सञ्चालनमा ल्याइने छ।













प्रतिक्रिया दिनुहोस्