जनता टाइम्स

१७ जेष्ठ २०७९, मंगलवार १५:१२

योगेश भट्टराईले उठाए अर्थमन्त्रीको कमिशनका कुरा


काठमाडौं, जेठ १७ । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ? भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेको तथ्य राख्दै अहिले आफै अर्थमन्त्री हुँदा किन नबढाएको भनी प्रश्न गनृुभयो ।

‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा(स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’, भट्टराईको प्रश्न थियो ।

उहाँले यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै बजेटले मुलुकको हित नगर्ने तथ्य पनि औंल्याउनु भयो । ‘यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, भट्टराईले भन्नुभयो ।