जनता टाइम्स

१७ जेष्ठ २०७९, मंगलवार १७:२६

विमान दुर्घटनामा परेसँगै प्राधिकरणको कडा नियम : अबदेखि मौसम सफा नभए आन्तरिक उडान रद्द


काठमाडौं, १७ जेठ । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो ।

अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो ।

‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्रवक्ता कर्णले भन्नुभयो । अहिलेसम्म विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो । अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्दत मिल्ने उहाँको भनाई छ । यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ ।

भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उहाँको भनाइ छ । आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो ।