जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १३:१७

सरकारलाई पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रश्न : किन बढेन बृद्धभत्ता ?


काठमाडौं, जेठ १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताउनु भएको छ । बजेटमाथिको आजको संसद बैठकमा भाग लिँदै एमाले उपाध्यक्ष पाण्डेले संकट एकातिर बजेट अर्कोतिर भएको तथ्यसमेत राख्नुभएको छ ।

पूर्वअर्थमन्त्री पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनाव मात्रै देखेको बताउनु भयो । ‘सरकारले यता पनि चुनाव उता पनि चुनाव देख्यो । आर्थिक संकटतिर उसको ध्यान नै गएन,’ पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो । उहाँले यसअघिको एमाले सरकारले ल्याएको बजेटलाई देखाएर उम्किन खोजिनु हाँस्यास्पद भएको बताउनु भयो ।

‘योभन्दा अगाडि तिमीहरुले ल्याएको बजेट पनि यस्तै त थियो नि भनिरहेको सुन्छु । तर, के हाम्रो सरकारको पालामा देशको अर्थतन्त्र यस्तै संकटमा थियो ? अहिलेको जस्तै विदेशी मुद्राको अभाव र मन्दीको अवस्था थियो ? ६ महिनादेखि हामी जुन संकटको चर्चा गरिरहेका छौं, त्योसँग यो बजेट मेल खान्छ ?’ पाण्डेले भन्नुभयो ।

पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने बताउनु भयो । आफ्नो धारणा राख्ने क्रममा उहाँले वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेकोले उमेर घटाउँदैमा केही फरक नपर्ने बताउनु भयो । ‘कांग्रेसको मेलमिलाप नीति, माओवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन । बरु वृद्धभत्ता ५ हजार पुर्याउने भन्नुभएको थियो । किन बढाउनुभएन बृद्धभत्ता भन्ने हाम्रो प्रश्न छ’, पाण्डेले भन्नुभयो ।

कर्मचारीको तलब वृद्धि पनि न्यायोचिन नभएको उहाँको भनाई छ । प्रतिशतमा बढाउँदा तल्लो र माथिल्लो तहका कर्मचारीबीच झन् दुरी बढ्ने उहाँको भनाइ छ ।