जुम्ला, २० जेठ । जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री नभएको पाइएको छ । सबैभन्दा बढी जेष्ठ नागगरिक सेवा लिन जाने कार्यालय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठनागरिक र अपाङ्गता मैत्री नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर उचाइमा रहेको छ । त्यस भन्दा मालपोत कार्यलय जुम्ला करिब २०० मिटर उचाईमा पर्दछ । त्यहाँ सेवा लिन जाने सबै सेवाग्राहीले उकालो बाटो चढ्नुपर्दछ । जग्गा कारोवार हुने भएकोले सेवाग्राहीहरुमा ज्येष्ठ नागरिकहरुले अनिवार्य मालपोत कार्यालय पुग्नै बाध्यता छ ।
तर दम तथा श्वासप्रश्वासका समस्या भएका रोगी नागरिकहरुले त्यहाँ पुग्न निकै सास्ती भोग्नु परेको बताउँदै आएका छन । मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवालाई सहज र सुगम बनाउन अनुरोध गरेका छन् । जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताउनुभयो । प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाज लगायतका सरोकारवाला निकाय मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल गर्यौं तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन,अध्यक्ष भारतीले भन्नुभयो,‘तत्कालीन् जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।
उहाँले आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यत्तिमैत्री नभएको दुखेसो पोख्नुभयो । त्यस्तै अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको बताउनुभयो । ‘अरु सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा केन्द्रित छन् । तर मालपोत कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,’ अध्यक्ष धितालले भन्नुभयो । यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भएपनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई त्यहाँ पुग्न निकै असहज भएको बताउनुभयो ।
धितालले भने अब मालपोत विभागको परिपत्र अनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिका राख्ने पहल सांसद गजेन्द्र महतले गर्नु भएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरुद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाई छ । त्यस्तै चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्